काठमाडौँ । सुरक्षित र स्थायी पुनःस्थापनाको ग्यारेन्टी नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आगामी असार १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेपछि आन्दोलित बनेका उनीहरूले शनिबार माइतीघर मण्डलादेखि बबरमहलसम्म विरोध प्रदर्शन गरेका हुन्।
सुकुम्वासीका मुख्य मागहरू:
स्थायी पुनःस्थापना: भू-स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता।
विकल्पसहितको व्यवस्थापन: पुनःस्थापना नै गर्ने भए पहिले घर भत्काइएको स्थानमा वा कानुनबमोजिम उपयुक्त स्थानमा स्थायी व्यवस्थापन गरिनुपर्ने।
आश्वासनको कार्यान्वयन: सरकारले पटक-पटक दिएका आश्वासनहरू पूरा गर्दै संविधान र कानुनबमोजिम दिगो, न्यायपूर्ण र मानवीय समाधान खोजिनुपर्ने।
“२५ हजार दिएर सडकमा अलपत्र पार्न खोजियो”
प्रदर्शनका क्रममा पीडितहरूका तर्फबाट बोल्दै दलमर्दन कामीले होल्डिङ सेन्टर खाली गर्न पटक-पटक दबाब दिँदा आफूहरूमा गम्भीर मानसिक तनाव उत्पन्न भएको बताए। सरकारका विभिन्न निकाय र प्रहरीले २५ हजार रुपैयाँ बुझेर सेन्टर छाड्न दबाब दिइरहेको आरोप लगाउँदै उनले सरकारले आफूहरूलाई सडकमा अलपत्र पार्न खोजेको दुखेसो पोखे। उचित व्यवस्थापन बिना कुनै पनि हालतमा सेन्टर खाली नगर्ने अडान उनीहरूको छ।
“डोजर होइन, समाधान देऊ”, “जनता मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन”, र “गरिबमाथिको ज्यादती बन्द गर” जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए।
बागमती एकीकृत विकास समितिले असार १९ को कडा म्याद तोकेपछि सुकुम्वासी बस्ती र होल्डिङ सेन्टर क्षेत्रमा फेरि तनाव बढ्ने संकेत देखिएको छ।