चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

  • शनिबार, असार १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

अर्घाखाँची, १३ असारः अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् ।

हालसम्म ३३ वटा बचेरा गुँडबाट उड्न सफल भएका गिद्धविज्ञ कृष्ण भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुँडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका हुन् । छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अतिसङ्कटापन्न डङ्गर गिद्धले सल्लाका रुखमा २३ वटा गुँड बनाएको थियो । तीमध्ये १५ वटा गुँडबाट सफलतापूर्वक बचेरा उडेका उहाँले जानकारी दिनुभयो ।

मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले २२ वटा र हाडफोर गिद्धले तीन वटा गुँड बनाएका थिए । तीमध्ये हिमाली गिद्धका १६ वटा र हाडफोर गिद्धका दुई वटा गुँडबाट बचेरा सफलतापूर्वक उड्न सफल भएका छन् । भुसालका अनुसार यी गिद्धहरूले वर्षमा एकपटक मात्र एउटा अण्डा पार्ने गर्छन् । सामान्यतया असोज–कात्तिकदेखि सुरु हुने प्रजनन चक्र वैशाख-जेठसम्म चल्ने भएकाले एउटा बचेरा हुर्काउन लामो समय लाग्ने गर्दछ ।

यता विश्वमै दुर्लभ तथा सङ्कटापन्न सेतो गिद्धले पनि सन्धिखर्क, भूमिकास्थान, मालारानी र शीतगङ्गा नगरपालिकाका विभिन्न छ स्थानमा गुँड बनाएर यतिबेला बचेरा हुर्काइरहेको छ । अन्य गिद्धहरूको तुलनामा यस प्रजातिको प्रजनन केही ढिलो सुरु हुने भएकाले अहिले पनि बचेरा हुर्काइरहेका भुसालले बताउनुभयो ।

अर्घाखाँचीमा पछिल्ला वर्षमा लगातार सफल प्रजनन हुनु, उपयुक्त बासस्थानको संरक्षण, पर्याप्त खाद्य उपलब्धता तथा स्थानीय समुदायको संरक्षणप्रतिको सचेतनाले गिद्धहरूको सङ्ख्या र प्रजनन सफलता बढाउन महत्वपूर्ण भूमिका खेलेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताउनुभयो ।

विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्धहरूको संरक्षणका लागि अर्घाखाँची अहिले महत्वपूर्ण जिल्लाका रूपमा चिनिन थालेको छ । यस वर्ष चार प्रजातिका गिद्धको सफल प्रजनन र ३३ वटा बचेरा उड्न सफल हुनु जिल्लाको जैविक विविधता संरक्षणका दृष्टिले उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको सूचना अधिकारी खड्काले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी