काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा विश्वविद्यालयमा ‘Purbanchal University Management System (PUMS)’ कार्यान्वयन गर्ने सम्बन्धमा काठमाडौँमा सम्बन्धन प्राप्त कलेजहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तम कुमार रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर बिजुकुमार थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा विश्वविद्यालयको तर्फबाट विज्ञान तथा प्रविधि संकायका डीन नवीन कुमार भट्टराई, चिकित्साशास्त्र संकायका डीन डाक्टर श्याम मल्लिक, उपकुलपतिका सल्लाहकार दिनेश राज सुवेदी, सह परीक्षा नियन्त्रक मेनुका श्रेष्ठ, मुख्य अधिकृत विनय भट्टराई, वरिष्ठ अधिकृत विभूषिता अर्याल र पिउक्यानका अध्यक्ष सुधीर गुरागाईको उपस्थिति रहेको थियो। साथै, उक्त कार्यक्रममा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँ, भक्तपुर, ललितपुर, पोखरा, चितवन, वीरगञ्ज, भैरहवा र नेपालगञ्ज लगायतका विभिन्न ठाउँबाट करिब ७० वटा क्याम्पस कलेजका प्रिन्सिपल एवं प्रतिनिधिहरू सहित १४० जनाको उपस्थिति रहेको थियो।
विश्वविद्यालयद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा अनुगमन तथा मूल्यांकन केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तम कुमार रेग्मीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने सफ्टवेयर विकास गर्ने प्राविधिकहरूले प्रविधिको डेमो प्रदर्शन गरेका थिए। कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि एवं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर बिजुकुमार थपलियाले आज आफूहरू केवल एउटा नयाँ सफ्टवेयरको सुरुवात गर्न मात्र नभई पूर्वाञ्चल विश्वविद्यालयलाई डिजिटल, पारदर्शी, उत्तरदायी र प्रभावकारी संस्थाको रूपमा रूपान्तरण गर्ने ऐतिहासिक यात्राको प्रारम्भ गर्न एकत्रित भएको बताउनुभयो। समयको माग, प्रविधिको विकास र उच्च शिक्षामा बढ्दो प्रतिस्पर्धालाई मध्यनजर गर्दै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा वित्तीय गतिविधिहरूलाई डिजिटल माध्यमबाट एकीकृत गर्ने उद्देश्यका साथ PUMS को कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको उहाँले प्रष्ट पार्नुभयो।
देशभर फैलिएका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूको यति ठूलो सञ्जाललाई प्रभावकारी रूपमा सञ्चालन, अनुगमन तथा मूल्याङ्कन गर्न आधुनिक सूचना प्रविधिको प्रयोग अपरिहार्य भइसकेको सन्दर्भमा विश्वविद्यालयले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको उपकुलपति थपलियाको भनाइ थियो। यस प्रणालीमार्फत विद्यार्थी भर्ना, शैक्षिक अभिलेख, परीक्षा व्यवस्थापन, प्रशासनिक गतिविधि, वित्तीय कारोबार, प्रतिवेदन प्रणाली तथा संस्थागत अनुगमनलाई एकीकृत डिजिटल प्लेटफर्ममा ल्याउने लक्ष्य राखिएको छ, जसबाट सूचना प्रवाह छिटो, तथ्याङ्क व्यवस्थापन व्यवस्थित, निर्णय प्रक्रिया तथ्यमा आधारित तथा सेवाग्राहीप्रति उत्तरदायित्व अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। यो प्रणाली केवल सूचना संकलन गर्ने माध्यम मात्र नभई विश्वविद्यालयका गतिविधिहरूको वास्तविक अवस्था बुझ्ने, कार्यसम्पादन मापन गर्ने तथा गुणस्तर सुधारका लागि आवश्यक निर्णय लिन सहयोग गर्ने महत्वपूर्ण उपकरण हुने र अब अनुगमन कागजी प्रतिवेदनमा सीमित नरही वास्तविक समयमा प्राप्त तथ्याङ्कका आधारमा हुने बताइएको छ।
उक्त अभियानको सफलताका लागि सबै आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूको सक्रिय सहभागिता, प्रतिबद्धता र सहयोग आवश्यक रहेको औंल्याउँदै उपकुलपति थपलियाले कलेज प्रतिनिधिहरूलाई यो प्रणालीलाई आफ्नो संस्थाको कार्यसंस्कृतिको अभिन्न हिस्सा बनाउँदै नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। डिजिटल रूपान्तरणको यात्रामा प्रारम्भिक चरणमा प्राविधिक, व्यवस्थापकीय तथा मानवीय पक्षसँग सम्बन्धित केही कठिनाइहरू आए पनि साझा प्रतिबद्धता, निरन्तर सुधार र सहकार्यबाट ती चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गर्दै उहाँले यस प्रणालीले पूर्वाञ्चल विश्वविद्यालयलाई “Smart, Efficient, Transparent and Connected University” को रूपमा स्थापित गर्ने दाबी गर्नुभयो।
कार्यक्रमको समापन गर्दै अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक उत्तम कुमार रेग्मीले विश्वविद्यालय सूचना र प्रविधिको क्षेत्रमा अग्रणी भूमिकामा रहेको र यस कार्यक्रम मार्फत विश्वविद्यालय र कलेजहरूबीचको सम्बन्ध विस्तार एवं सहज पहुँच हुने विचार व्यक्त गर्नुभयो। आजको यस एक दिने अभिमुखीकरण कार्यक्रम काठमाडौँ उपत्यका लगायत पश्चिम क्षेत्रमा रहेका सम्बन्धन प्राप्त क्याम्पस कलेजहरूका लागि आयोजना गरिएको जानकारी दिँदै उहाँले विराटनगर लगायत पूर्वी क्षेत्रमा रहेका आङ्गिक एवं सम्बन्धन प्राप्त क्याम्पस कलेजहरूको लागि चाँडै नै विराटनगरमा यस्तै अर्को एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने समेत जानकारी गराउनुभयो। आजको कार्यक्रमले प्रणालीको उद्देश्य, प्रयोग विधि, अपेक्षित उपलब्धि तथा कार्यान्वयन प्रक्रियाबारे साझा बुझाइ निर्माण गर्नुका साथै सहभागीहरूबाट प्राप्त सुझाव र प्रतिक्रियाले प्रणालीलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।