पश्चिम नवलपरासी ,११ असार । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी बलले तस्करी विरुद्ध आफ्नो एक्सन लाई तीव्र पारेको छ । यसै क्रममा प्रहरीले एक ठुलो सफलता हात पार्दै करिब रु. १०,२३,०००/– (दश लाख तेईस हजार) मूल्य बराबरको अवैध खयरको काठ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर २६ नम्बर गण पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी उपरीक्षक (SP) गोविन्द बहादुर खातीको कमाण्ड सम्हालेसँगै सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि कडा एक्सन सुरु भएको छ । सोही सक्रियताका कारण विशेष सूचनाको आधारमा बि.ओ.पि बलिनगरबाट सशस्त्र प्रहरी निरीक्षक हरि कृष्ण गिरीको नेतृत्वमा १३ जनाको कमाण्डो गस्ती टोली परिचालन गरिएको थियो ।
उक्त टोलीले बुधबार राति अन्दाजी १० बजे सुस्ता गाउँपालिका-५ धनैया स्थित नारायणी नदीको किनारमा लुकाईछिपाई राखेको अवस्थामा ६६.०५ क्युविक फिट (४६ थान) अवैध खयरको काठ बरामद गर्न सफल भएको हो ।
बरामद गरिएको उक्त काठलाई आवश्यक कानुनी कारबाहीका लागि आजै सव-डिभिजन वन कार्यालय प्रतापपुर, सुस्ता नवलपरासीमा बुझाइएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक खातीको आगमनसँगै जिल्लामा गैरकानुनी गतिविधि र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको एक्सन निकै आक्रामक र प्रभावकारी बन्दै गएको स्थानीयबासीहरू बताउँछन् ।