काठमाडौं, ११ असार । ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन्। बिहीबार बिहान भएको समूह ‘सी’ को अन्तिम खेलमा आ-आफ्नो खेल जित्दै दुवै टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन्।
मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० को सहज अन्तरले पराजित गर्दै समूह विजेता बन्यो। ब्राजिलको जितमा स्टार फरवार्ड भिनिसियस जुनियरले दुई र मथेउस कुन्हाले एक गोल गरे। भिनिसियसले खेलको सातौं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गरेपछि ब्राजिलले खेलमा २–० को अग्रता लियो। ६०औं मिनेटमा कुन्हाले गोल थपेपछि ब्राजिलले ३–० को सहज जित सुनिश्चित गर्यो।
यसै समूहको अर्को खेलमा मोरक्कोले हाइटीलाई ४–२ गोल अन्तरले स्तब्ध पार्दै नकआउट चरणको यात्रा तय गर्यो। एटलान्टा स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा हाइटीले दुईपटक सम्म लिएको अग्रता जोगाउन नसक्दा हार बेहोर्नु परेको हो। खेलको १०औं मिनेटमा आत्मघाती गोलमार्फत हाइटीले सुरुवाती अग्रता लिएको थियो, तर ३९औं मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो। ४३औं मिनेटमा हाइटीले पुन: गोल गर्दै २–१ को अग्रता बनाए पनि पहिलो हाफको इन्जुरी समयमा मोरक्कोले खेललाई २–२ को बराबरीमा ल्यायो।
दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै मोरक्कोले ७८औं मिनेटमा गोल गरेर खेलमा पहिलोपटक अग्रता लियो। ८९औं मिनेटमा मोरक्कोले अर्को गोल थपेपछि ४–२ को जितका साथ अन्तिम १६ को यात्रा पक्का गर्यो।
समूह ‘सी’ मा ब्राजिल र मोरक्कोको समान ७–७ अंक भए पनि हेड-टु-हेडका आधारमा ब्राजिल समूह विजेता र मोरक्को उपविजेताका रूपमा नकआउट चरणमा पुगेका हुन्। हाइटी यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ भने स्कटल्यान्डको उत्कृष्ट तेस्रो टोली बन्दै नकआउट पुग्ने झिनो सम्भावना कायमै छ।