स्टार फरवार्ड विनिसियस जुनियरको उत्कृष्ट सोलो गोलको मद्दतले पाँच पटकको विश्वविजेता ब्राजिलले विश्वकपको आफ्नो पहिलो खेलमा व्यहोर्नुपर्ने ठूलो हारको संकटलाई टारेको छ। सन् १९३४ यता विश्वकपको पहिलो खेलमा कहिल्यै पराजित नभएको ब्राजिलले न्यू जर्सीको मेटलाइफ स्टेडियममा मोरक्कोसँग १-१ को बराबरी खेल्दै आफ्नो ऐतिहासिक कीर्तिमानलाई जोगाएको हो।
खेलको २१औं मिनेटमा इस्माएल साइबारीको गोलमार्फत अफ्रिकन च्याम्पियन मोरक्कोले सुरुवाती अग्रता लिएको थियो। लिभरपुलका गोलकिपर एभिसन बेकर र डिफेन्डरद्वय ग्याब्रियल र मार्किन्होसबीच तालमेल नमिल्दा, साइबारीले पेनाल्टी एरिया बाहिरबाट बललाई एभिसनको माथिबाट जाली चुमाएका थिए।
विश्वकपको इतिहासमा मोरक्कोले दक्षिण अमेरिकी टोलीविरुद्ध गोल गरेको यो पहिलो पटक हो। यसअघि सन् १९७० मा पेरु र १९९८ मा ब्राजिलविरुद्ध मोरक्को गोल गर्न असफल भएको थियो।
खेलमा मोरक्कोको दबाब यतिमै रोकिएन। खेलको ३०औं मिनेटसम्ममा उसले ब्राजिलको पोस्टमा १२ पटक प्रहार गरिसकेको थियो। सन् २०१८ को विश्वकपमा मेक्सिकोविरुद्धको खेलपछि ब्राजिलले सामना गरेको यो नै सबैभन्दा बढी प्रहार हो।
मोहमद उआहबीको प्रशिक्षणमा रहेको मोरक्कोले आफ्नो दबाबलाई थप गोलमा परिणत गर्न नसक्दा ब्राजिलले खेलमा फर्कने मौका पायो। हाफ टाइम हुनुभन्दा १३ मिनेट अघि ब्राजिलले बराबरी गोल फर्कायो।
ब्राजिलका लागि ५०औं खेल खेलिरहेका विनिसियस जुनियरले ब्रुनो गुइमारेसको पासलाई पेनाल्टी एरियाभित्र नियन्त्रणमा लिँदै, डिफेन्डरलाई छक्याएर मोरक्कन गोलकिपर यासिन बोनोलाई परास्त गर्दै उत्कृष्ट गोल गरे।
पहिलो हाफको इन्जुरी समयमा पूर्व वेस्टह्याम मिडफिल्डर लुकास पाक्वेटाको एक एक्रोब्याटिक प्रहारलाई मोरक्कोका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै कर्नरमा धकेलिदिएपछि ब्राजिल अग्रता लिनबाट चुक्यो।
सन् २००२ को विश्वकप विजेता ब्राजिलियन टोलीका लिजेन्डहरू—रोनाल्डो, काका र रोबर्टो कार्लोस स्टेडियममा उपस्थित भई खेल हेरिरहेका थिए। दोस्रो हाफमा कार्लो एन्सेलोटीको ब्राजिलियन टोलीले खेलको गति बढाए पनि दुवै टोलीले गोलका खासै अवसरहरू सिर्जना गर्न सकेनन्।
ब्राजिलका राफिन्हाले खेलको उत्तरार्धमा ब्रुनो गुइमारेसको क्रसमा गोल गर्ने सुनौलो मौका गुमाएका थिए।
यो बराबरीसँगै विश्वकपको आफ्नो पहिलो खेल जित्ने मोरक्कोको प्रतिक्षा अझै लम्बिएको छ। अर्कोतर्फ, ब्राजिलले विश्वकपको आफ्नो ओपनिङ म्याचमा ९२ वर्षदेखि अपराजित रहेको आफ्नो ऐतिहासिक र गौरवशाली कीर्तिमानलाई कायम राख्न सफल भएको छ।