संसद् खुलाउने पहल छाडेर सभामुख अर्याल सुदूरपश्चिम सयरमा: भोलि बैठक बस्दै, गतिरोध कायमै रहने संकेत

संसद् खुलाउने पहल छाडेर सभामुख अर्याल सुदूरपश्चिम सयरमा: भोलि बैठक बस्दै, गतिरोध कायमै रहने संकेत

  • आइतवार, जेष्ठ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमाका सम्बन्धमा दिएको विवादित अभिव्यक्तिका कारण प्रतिनिधि सभामा उत्पन्न गतिरोध अन्त्य गर्नेतर्फ सभामुख डोलप्रसाद अर्यालले कुनै चासो देखाएका छैनन्। संसदको अवरोध हटाउन भन्दै ५ दिनका लागि बैठक स्थगित गरेका सभामुख अर्यालले यो बीचमा राजनीतिक दलहरूसँग कुनै औपचारिक संवाद नगरी काठमाडौँ बाहिरका कार्यक्रममा व्यस्त रहेका हुन्।

‘भारतको भूमि नेपालले पनि मिचेको’ भनी प्रधानमन्त्री शाहले संसद्‌मै दिएको अभिव्यक्तिपछि विपक्षी दलहरू; नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले निरन्तर बेल घेराउ गर्दै आएका छन्। सोही कारण सभामुख अर्यालले गत जेठ १९ गते प्रतिनिधि सभाको बैठक जेठ २४ गते (भोलि) सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका थिए।

संसद् अवरुद्ध, सभामुखलाई भने ‘लावालस्कर’ को सयर

विवाद समाधानका लागि ५ दिनको समय भए पनि सभामुख अर्यालले सत्तापक्ष वा विपक्षीसँग कुनै औपचारिक बैठक राखेनन्। बरु, उनी दक्षिण भारतीय फिल्मको हिरो शैलीमा सरकारी गाडीहरूको लावालस्करसहित सुदूरपश्चिम पुगेपछि उनको तीव्र आलोचना भइरहेको छ।

सदन स्थगित भएपछिको सभामुखको दौडधुप:

  • जेठ २१ गते: ललितपुरको स्टाफ कलेजमा आयोजित जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको कार्यक्रम, र लगत्तै काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको वार्षिक प्रगति समीक्षा कार्यक्रममा सहभागिता।

  • जेठ २२ गते: सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलनमा सहभागी हुन प्रस्थान। सुदूरपश्चिम बसाइका क्रममा विभिन्न जिल्लाका सम्पदा र कार्यालयहरूको अवलोकन।

  • जेठ २४ गते (आज): आइतबार मात्र काठमाडौँ फर्किने कार्यतालिका।

सभामुखकी प्रमुख स्वकीय सचिव मुना कुँवरले सभामुख शुक्रबार धनगढी गएको र आइतबार मात्र काठमाडौँ फर्कने जानकारी दिइन्।

प्रतिपक्षी आक्रोशित: “संवादको पहल नै भएन”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गतिरोध अन्त्यका लागि सभामुखबाट अहिलेसम्म कुनै बैठक आह्वान नभएको बताए। “संसद स्थगित भएपछि एक पटक टेलिफोन गर्नुभएको थियो, म बाटोमा भएकाले राम्रो कुरा हुन पाएन। त्यसयता न औपचारिक बैठक बोलाइएको छ, न सत्तापक्षले नै संवादको प्रयास गरेको छ,” आङ्देम्बेले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सामाजिक सञ्जालमार्फत सभामुख र सरकारमाथि गम्भीर प्रश्न उठाएकी छन्। उनले राष्ट्रिय मुद्दाभन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशनका लागि संसद्‌लाई बन्धक बनाइएको आरोप लगाइन्।

“सदन स्थगित भएको ५ दिन भइसक्यो, भोलि बैठक बस्दै छ। तर बिनाकुनै उपलब्धि भोलि त्यही गतिरोधकै बिन्दुबाट सदन सुरु हुने स्थिति छ। आखिर सदन कसका लागि र कुन प्रयोजनका लागि स्थगित गरियो ?,” ओलीको प्रश्न छ।

रास्वपा पार्टी अधिवेशनमा व्यस्त, संसदीय समितिहरू ठप्प

अहिले एकल बहुमतको सरकार चलाइरहेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्नै पार्टीको जिल्ला र क्षेत्रीय अधिवेशनहरूमा व्यस्त छ। रास्वपाका सांसदहरू जिल्ला दौडाहमा रहेका कारण यो बीचमा आह्वान गरिएका राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिका बैठकहरू समेत बस्न नसकी स्थगित गरिएका थिए।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले पनि जेठ १९ गतेपछि गतिरोध अन्त्यका लागि संसद् सचिवालयको तर्फबाट कुनै औपचारिक छलफल नभएको पुष्टि गरे।

प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिका विरुद्ध विपक्षी दलहरू भोलिको बैठकमा पनि आक्रामक रूपमा उत्रने तयारीमा छन्। राजनीतिक सहमति नजुटाई सभामुख काठमाडौँ बाहिर निस्किएकाले भोलि सोमबार बस्ने प्रतिनिधि सभा बैठक पुनः तनावग्रस्त हुने निश्चित देखिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ