दमक, झापा । झापाको दमकमा एक किशोरीको क्रूरतापूर्वक हत्या गरी बोरामा हालेर फ्याँकेको अवस्थामा शव फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
गत जेठ १६ गते झापाको दमक नगरपालिका वडा नम्बर १० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र पोको पारिएको अवस्थामा एक महिलाको शव फेला परेको थियो। मृतकका पिता नारायण तिवारीले उक्त शव दमक-८ वसन्त टोल निवासी २१ वर्षीया रोमा भनिने रमा तिवारीको भएको पुष्टि गरेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो।
सुरुमा रोमाका प्रेमीमाथि शंका गरिए पनि संलग्नताको आधार नदेखिएपछि प्रहरीले अनुसन्धानको सुई अन्तै मोडेको थियो। घटनालगत्तै कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोली अनुसन्धानमा जुटेको थियो। घटनास्थलको सूक्ष्म निगरानी, प्राविधिक विश्लेषण र सिसिटिभी फुटेजको अध्ययनबाट प्रहरी आरोपीसम्म पुग्न सफल भएको हो।
को हुन् आरोपी?
हत्यामा संलग्न रहेको आरोपमा भारतको बिहार राज्य, अररिया जिल्ला घर भई हाल दमक-५ मा डेरा गरी बस्ने ३४ वर्षीय राकेश कुमार पण्डित (रमेशकुमार) लाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। उनी दमक क्षेत्रमा टाइल्स तथा मार्बल जडानको ठेक्कापट्टाको काम गर्दै आएका थिए। इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतको कमान्डमा खटिएको टोलीले जेठ २१ गते राति ११ बजे उनकै डेराबाट नियन्त्रणमा लिएको हो।
लेनदेनको विवाद र मध्यरातमा हत्या
प्रहरीका अनुसार टाइल्स मिस्त्री राकेश र मृतक रोमाबीच पुरानै चिनजान थियो। जेठ १३ गते मध्यरातमा उनीहरूबीच भेट भएको र पैसाको लेनदेनलाई लिएर विवाद उत्पन्न भएको अनुसन्धानबाट खुलेको छ।
डेरा नजिकै विवाद बढेपछि राति ११ बजेको आसपासमा राकेशले रोमाको हत्या गरेका थिए। राति हल्ला हुँदा आफ्नो बदनाम हुने डरले हतारमा हत्या गरेको आरोपीले बयानका क्रममा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी बसुन्धरा खड्काले जानकारी दिइन्।
मोटरसाइकलमा शव व्यवस्थापन, भोलिपल्टै मन्दिरमा पूजा!
युवतीको हत्या गरेपछि राकेशले आफ्नै कोठाबाट सेतो बोरा ल्याएर शव प्याक गरेका थिए। सोही राति उनले भारतीय नम्बर प्लेटको अपाचे मोटरसाइकलमा शव लोड गरी दमक-१० स्थित रतुवा खोलाको पुलमुनि (सेतुमारी क्षेत्र) फालेका थिए।
हत्या गरेर शव व्यवस्थापन गरेपछि आरोपी रातभर निदाउन सकेका थिएनन्। प्रहरी स्रोतका अनुसार भोलिपल्ट (जेठ १४ गते) बिहानै उनी दमकको पशुपति मन्दिर पुगेर “गल्ती भयो” भन्दै प्रायश्चित्त गरी क्षमायाचना र पूजा समेत गरेका थिए। शव फालिएको ३ दिनपछि मात्र स्थानीयले बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जबरजस्ती करणी र ज्यान सम्बन्धी कसुरमा मुद्दा
पक्राउ परेका पण्डितविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ र १८ बमोजिम ज्यान सम्बन्धी कसुर र जबरजस्ती करणी कसुरमा अनुसन्धान सुरु गरिएको छ।
झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको झापा प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक सुमन बानियाले जानकारी दिएका छन्।