काठमाडौँ, २२ जेठ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले सत्ताको उन्मादमा परेर प्रतिपक्षलाई निमिट्यान्न पार्ने खेलमा लाग्न नहुने बताएकी छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले लोकतन्त्रमा प्रतिपक्षको भूमिका मार्गदर्शक हुने भएकाले उसलाई ध्वस्त बनाउने राजनीति गलत भएको टिप्पणी गरिन्।
दलहरूबीचको प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले प्रतिपक्षले सत्ताधारीको खोट देखाउनु सरकारकै लागि मार्गनिर्देशन भएको बताइन्। जनताको मत पाएर आएको प्रतिपक्षको खुट्टा तानेर उसलाई ध्वस्तै बनाउँछु भन्ने मानसिकता राख्न नहुने उनको तर्क थियो।
बालेन र रास्वपालाई इतिहासबाट सिक्न सुझाव
कार्यक्रममा बोल्दै कार्कीले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूलाई विगत र इतिहासबाट पाठ सिकेर अघि बढ्न सुझाव दिइन्। सरकार र नेतृत्वमा आएका नवयुवाहरूले इतिहासलाई मनन गरेर मुलुक चलाउनु उपयुक्त हुने उनको भनाइ थियो।
“नेतृत्वमा आएका युवाहरूले अघिल्ला कुराहरू र इतिहासलाई मनन गर्नुपर्छ, पार्टीका लिडरहरू सधैँ जवान रहँदैनन्,” कार्कीले भनिन्, “हिजो केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डहरू आउँदा पनि आफ्ना आन्दोलनका क्रममा युवा नै थिए। यो अनुभव सँगै परिपक्व हुँदै जाने प्रक्रिया हो।”
रचनात्मक आलोचनाको आवश्यकता
पूर्वप्रधानन्यायाधीश कार्कीले सत्तापक्षको व्यवहारमा मात्र नभई प्रतिपक्षको प्रवृत्तिमा पनि सुधार आवश्यक रहेको औंल्याइन्। सरकारको रचनात्मक आलोचना गर्नुको साटो केवल खुट्टा तान्ने प्रवृत्ति राख्नु गलत भएको उनको भनाइ थियो। बहुदलीय व्यवस्थामा दुई-तीनवटा बलिया पक्षहरू हुनुपर्ने र उनीहरूबीचको स्वस्थ आलोचना एवं प्रतिस्पर्धाले मात्र मुलुकलाई सही दिशामा हाँक्न मद्दत पुग्ने धारणा उनले व्यक्त गरिन्।