काठमाडौँ, २२ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनी तीन दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री खनालले शुक्रबारदेखि आइतबारसम्म भारतको भ्रमण गर्ने तालिका सार्वजनिक गरेको थियो।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्। सो अवसरमा व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क), ऊर्जा तथा जनस्तरको सम्बन्धलगायतका प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षबिच आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। भारतको औपचारिक भ्रमण पूरा गरी परराष्ट्रमन्त्री खनाल जेठ २४ गते आइतबार स्वदेश फर्किने कार्यक्रम छ।