काठमाडौँ, जेठ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँच दिने भ्रमण पूरा गरी भोलि (शुक्रबार) स्वदेश फर्किँदै छन्। उनी फर्किएकै दिन परराष्ट्रमन्त्री शिशिर खनाल भने औपचारिक भ्रमणका लागि भारततर्फ प्रस्थान गर्ने भएका छन्।
भ्रमणका क्रममा रास्वपा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशङ्कर लगायतका उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन्।
यसैबिच, परराष्ट्रमन्त्री खनाल भोलि जुन ५ (जेठ २३) मा नयाँ दिल्ली प्रस्थान गरी आगामी जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसअघि परराष्ट्रमन्त्री खनाल जेठ २३ गते भारत भ्रमणमा जाने तयारी रहे पनि अन्तिम समयमा भ्रमणको तालिका एक दिन अगाडि सारिएको हो।
“भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनालले जुन ५ देखि ७, २०२६ सम्म भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ,” परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना समकक्षी भारतीय विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्।
भेटका क्रममा दुवै देशबिच व्यापार, लगानी, कनेक्टिभिटी (सञ्जाल विस्तार), ऊर्जा र जनस्तरको सम्बन्ध (पिपुल-टु-पिपुल रिलेसन्स) लगायतका प्रमुख क्षेत्रहरूमा सहयोग अभिवृद्धि गर्ने उद्देश्यले पारस्परिक हितका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। यो भ्रमणले नेपाल र भारतबिचको स्थायी र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास परराष्ट्र मन्त्रालयले लिएको छ।