काठमाडौँ ।
नेकपा (एमाले) संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा’ कार्यशाला १० बुँदे संकल्प प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालद्वारा प्रस्तुत उक्त प्रस्तावले पार्टीलाई प्रविधिमैत्री बनाउँदै तल्लो तहदेखि नै पुनर्जागृत गर्ने लक्ष्य लिएको छ।
कार्यशालाले पारित गरेको मुख्य संकल्पहरूमा अनलाइन सदस्यता नवीकरण, नयाँ सदस्य विस्तार र “ठिक समय एमाले समय” जस्ता महत्त्वपूर्ण एजेन्डाहरू समावेश छन्।
१ सदस्य बराबर ३ नयाँ सदस्यको नीति
एमालेले संगठन विस्तारका लागि आक्रामक रणनीति अख्तियार गर्ने भएको छ। पारित संकल्प प्रस्तावअनुसार अब पार्टीका प्रत्येक १ संगठित सदस्यले न्यूनतम ३ जना नयाँ पार्टी सदस्य तयार गर्नुपर्ने बाध्यात्मक संकल्प गरिएको छ। त्यस्तै, विगतको प्रतिनिधिसभा निर्वाचनमा अन्यत्र मत परिवर्तन गरेका मतदाताहरूलाई पुनः पार्टीमा सक्रिय हुन एमालेले आह्वान गरेको छ।
डिजिटल क्रान्ति र समयको पालना
पार्टी जीवनलाई आधुनिक प्रविधिसँग जोड्न एमालेले विशेष योजना अघि सारेको छ।
“यो कार्यशाला विज्ञान तथा प्रविधिको क्रान्ति र सामाजिक सञ्जालको प्रयोगमा आफ्नो सक्रिय उपस्थिति जनाउँदै पार्टी जीवनलाई डिजिटल क्रान्तिमा रूपान्तरित गर्ने संकल्प गर्दछ,” पारित प्रस्तावमा भनिएको छ।
यसका साथै, एमालेले आफ्नो कार्यशैलीमा सुधार गर्दै “ठिक समय एमाले समय” भन्ने नारा तय गरेको छ। अबदेखि पार्टीका हरेक कार्यक्रमहरू तोकिएकै समयमा अनिवार्य रूपमा आरम्भ गरिने संकल्प गरिएको छ।
एमाले कार्यशालाबाट पारित १० बुँदे संकल्प प्रस्तावहरू:
-
१. अनलाइन सदस्यता नवीकरण: पार्टीको संगठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब अगाडि बढाइनेछ।
-
२. नयाँ सदस्य थप: १ संगठित सदस्यले न्यूनतम ३ नयाँ पार्टी सदस्य तयार गर्ने संकल्प।
-
३. मतदाता फिर्ताको आह्वान: गत प्रतिनिधिसभाको निर्वाचनमा मत परिवर्तन गरेका मतदाताहरूलाई पुनः पार्टीमा सक्रिय हुन आह्वान।
-
४. समय व्यवस्थापन: “ठिक समय एमाले समय” को नारालाई यथार्थमा रूपान्तरित गर्न हरेक कार्यक्रम तोकिएको समयमै सुरु गर्ने।
-
५. डिजिटल क्रान्ति: विज्ञान-प्रविधि र सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्दै पार्टी जीवनलाई डिजिटल रूपान्तरण गर्ने।
-
६. तल्लो तहदेखि पुनर्जागरण: सदस्यता नवीकरणको काम चाँडै सम्पन्न गरी टोल, वडा, पालिका, जिल्ला र प्रदेश हुँदै सिङ्गो पार्टीलाई पुनर्जागृत गर्ने।
-
७. जनसंगठनको सुदृढीकरण: पार्टी आबद्ध जनसंगठनहरूलाई समुदायका मुद्दा उठाउने नेता संगठन बनाउने र केन्द्रदेखि आधारभुत तहसम्म पुनर्गठन गर्ने।
-
८. नयाँ पुस्तासँग संवाद: नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रम गरी पार्टी आबद्ध परिवारका छोराछोरीहरूको सम्मेलन सबै कमिटीले आयोजना गर्ने।
-
९. सम्पर्क समितिको परिचालन: केन्द्रीय सम्पर्क समन्वय समिति र यस मातहतको संरचनालाई उच्च महत्त्वका साथ परिचालन गरी भूगोल र उपत्यकाको कामलाई प्रभावकारी बनाउने।
-
१०. प्रवासका युवाहरूको उपयोग: अनलाइन र सामाजिक सञ्जालमार्फत प्रवासमा रहेका युवाहरूको समूह निर्माण गर्ने तथा उनीहरूको अनुभव र विज्ञतालाई पार्टी हितमा उपयोग गर्ने।