काठमाडौँ, जेठ २० गते । भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ। गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा बुधबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल उपाधि होडबाट बाहिरिन पुगेको हो। खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा थप गोल ब्यहोरेपछि नेपाल पराजयको सिकार बन्यो।
नेपालका लागि खेलको २२औँ मिनेटमा गीता रानाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। तर, बङ्गलादेशका ऋतु पोर्ण चक्मा र मिलाम सुगारोरिकाले जवाफी गोल गरेपछि खेल बङ्गलादेशले २–१ ले आफ्नो पक्षमा पार्यो।
यो जितसँगै बङ्गलादेश प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। यसअघि नेपालले समूह ‘ए’ को पहिलो खेलमा भुटानलाई १–० र दोस्रो खेलमा श्रीलङ्कालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो। अघिल्लो संस्करणको फाइनलमा पनि नेपाल बङ्गलादेशसँग नै पराजित भएको थियो।