भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका छन्। भारत भ्रमणमा रहेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटवार्तापछि उनले यस्तो धारणा राखेका हुन्।
लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखेका छन्: “साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्दछु।”
मोदीले भारतको ‘छिमेकी पहिलो’ (Neighbourhood First) नीतिअन्तर्गत नेपाल सधैँ प्राथमिक साझेदार राष्ट्र रहेको स्पष्ट पारेका छन्। उनले थपेका छन्, “दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौँ।”
५ दिने भारत भ्रमणमा रास्वपा टोली
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि गत जेठ १८ गते नयाँ दिल्ली प्रस्थान गरेको थियो।
भ्रमण टोलीमा लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।