काठमाडौँ। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।
भ्रमणको दोस्रो दिन मंगलबार लामिछानेले भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीन, भारतका विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित साहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटहरूमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबिचको संवाद र सहकार्यका विषयमा गहन छलफल भएको जनाइएको छ।
भाजपाको निमन्त्रणामा भारत भ्रमणमा गएका लामिछानेलाई त्यहाँ रेड कार्पेटसहित भव्य स्वागत गरिएको थियो।
पाँच दिने औपचारिक भ्रमणका लागि सभापति लामिछानेसहित उनकी पत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र अविनाश आचार्य (प्रदीप) सोमबार नयाँ दिल्ली प्रस्थान गरेका थिए। लामिछाने नेतृत्वको टोली जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।