मङ्गलबार, १९ जेठ २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख नितिन नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा छन्।
भ्रमणका क्रममा लामिछानेले भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरी नेपाल-भारत सम्बन्ध, साझा हित र सहकार्यका विषयमा छलफल गरेका छन्।
यस भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्य विस्तारमा सकारात्मक योगदान पुग्ने रास्वपाको अपेक्षा छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यतिबेला भारत भ्रमणमा छन्। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा उनी सोमबार (जेठ १८) पाँच दिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका हुन्। नयाँ दिल्ली पुगेलगत्तै लामिछानेले भारतीय उच्च नेतृत्वसँग राजनीतिक संवाद सुरु गरिसकेका छन्।
दिल्ली पुगेपछि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपाको केन्द्रीय कार्यालय भ्रमण गरी नेताहरूसँग भेटवार्ता गरेको छ। भाजपाको ‘भाजपालाई चिन्नुहोस्’ (Know BJP) अभियानअन्तर्गत यो भेटघाट र मुख्यालयको अवलोकन आयोजना गरिएको हो।
भेटका क्रममा भाजपा नेतृत्वले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, साझा सांस्कृतिक विरासत तथा जनस्तरको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै यस्ता अन्तर्क्रियाले दुई देशका राजनीतिक दलहरूबीचको लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। साथै, प्रतिनिधिमण्डललाई भाजपाको राजनीतिक यात्रा, वैचारिक आधार, सङ्गठनात्मक संरचना तथा जनतामुखी राजनीतिक अभ्यासबारे जानकारी गराइएको थियो।
रास्वपाको प्रतिनिधिमण्डलले भाजपाको सदस्यता वितरण प्रणाली, उम्मेदवार छनोट प्रक्रिया तथा तल्लो तहका कार्यकर्तासँग पार्टीले कायम गर्ने सम्बन्धबारे चासो राखेको थियो। भारतीय पक्षबाट निरन्तर जनसम्पर्क, बुथस्तरीय सक्रियता र नागरिकको प्रत्यक्ष सहभागिताले नै भाजपाको सङ्गठनात्मक शक्ति निर्माण भएको जानकारी दिइयो। साथै, प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले विकास, सेवा, सुशासन र जनकल्याणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरियो। भेटमा राजनीतिमा नयाँ पुस्ता (जेन-जी) को बढ्दो सहभागिता, लोकतान्त्रिक बहस तथा भावी नेतृत्व निर्माणमा युवाको भूमिकाबारे समेत छलफल भएको थियो।
भारत भ्रमणकै क्रममा सभापति लामिछानेले भारतका विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गरेका छन्। भेटपछि विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत नेपाल–भारत विकास साझेदारी र जनस्तरको सम्बन्धबारे सकारात्मक छलफल भएको बताएका छन्।
त्यसैगरी, मङ्गलबार साँझ रास्वपा टोलीले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेको छ। उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा गहन विचार-विमर्श भएको छ।
सभापति लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
रास्वपाले यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्य विस्तार गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा गरेको छ।
भ्रमण टोलीमा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र लामिछानेकी पत्नी निकिता पौडेल लगायत सहभागी छन्।