विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

  • मङ्लबार, जेष्ठ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

काठमाडौँ, १९ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले लगातार विरोध जनाएपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरेर सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षीलगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो धारणा फिर्ता लिनुपर्ने धारणा राखेका थिए ।

सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरुलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटकपटक आग्रह गर्नुभएको थियो । बजेटलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसनग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो । विपक्षी दलका सांसदहरुले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध गरेपछि बैठक यही जेठ २५ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

आजको बैठकमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुभयो ।

त्यसअघि नेपाली कांग्रेसका सांसद अभिषेकप्रसाद साहले नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा राख्नुभएको धारणा पुष्टि गर्न आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेसका तर्फबाट सो सम्बन्धमा सदनमा विरोध दर्ज गराइएको जानकारी दिनुभयो ।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सार्वभौमसत्ता, अखण्डता जोगाउने सम्बन्धमा सबै सांसदहरुको समान धारणा रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले प्रधानमन्त्री व्यक्ति नभई संस्था भएकाले त्यस्तो निकायबाट गलत धारणा आउनु आफैमा ग्राह्य नभएको तर्क गर्नुभयो । देशको सीमा, सार्वभौमसत्ता, अखण्डताका विषयमा सम्झौता हुन नसक्ने उहाँको भनाइ थियो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रधानमन्त्री राष्ट्रको अभिभावक भएकाले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्य तथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । आफूहरु संसद् सहज ढङ्गले चलोस् भन्नेमा प्रष्ट रहेको उल्लेख गर्दै उहाँले सो सम्बन्धमा सत्तापक्षको धारणा सार्वजनिक गर्न माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले सीमा विवाद र अतिक्रमणका विषय फरकफरक विषय भएको बताउनुभयो । देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताका विषयमा कोही कसैसँग सम्झौता हुन नसक्ने उहाँको भनाइ थियो ।

आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची थियो । यसैगरी सदनमा आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमााथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ