काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरूङको सेयर लगानी र अन्य सम्पत्तिको स्रोतमाथि छानबिन गर्न गठित समितिको म्याद थप ५ दिन बढाइएको छ। उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष रहेको यस समितिलाई मंगलबारदेखि लागु हुने गरी थप पाँच दिनको समय उपलब्ध गराइएको हो।
महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको यस समितिले आफ्नो अनुसन्धानका महत्त्वपूर्ण प्रक्रियाहरू पूरा गरिसकेको छ। समितिका सदस्य नेउपानेका अनुसार पूर्वगृहमन्त्री गुरूङको बयान र तथ्य अध्ययन लगायतका मुख्य कामहरू सकिएका छन् र समिति अब प्रतिवेदन लेखनको अन्तिम चरणमा लागेको छ। थपिएको ५ दिनको समयावधि आजैदेखि सुरु भएको उनले जानकारी दिएका छन्।
प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्वगृहमन्त्री गुरूङमाथि उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गर्न गत वैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले यो समिति गठन गर्ने निर्णय गरेको थियो। समितिलाई सुरुमा १५ दिनको समय दिइएकोमा उक्त समयावधि सोमबार सकिएपछि म्याद थप गरिएको हो।
सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि हिरासतमा रहेका दीपक भट्टसँग व्यावसायिक साझेदारी देखिएपछि गुरूङ विवादमा परेका थिए। आफूमाथि प्रश्न उठेपछि उनले पदमा रहँदा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) नदेखियोस् भन्दै गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।