काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्नेदेखि भूमि समस्या समाधान समितिलाई पूर्णता दिनेसम्मका चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह, भूमि व्यवस्था र वातावरण मन्त्रालयसँग सम्बन्धित ती निर्णयहरू गरेको हो।
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू यसप्रकार रहेका छन्:
१. ओजोन तह संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता स्वीकृत
सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) बाट प्राप्त ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी ‘मोन्ट्रियल प्रोटोकल’ को कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। वातावरण संरक्षण र ओजोन तहको सुरक्षाका दृष्टिकोणले यस सम्झौतालाई महत्त्वपूर्ण मानिएको छ।
२. सशस्त्र प्रहरीको एआईजीमा अन्जनी कुमार पोख्रेल बढुवा
गृह मन्त्रालयको प्रस्तावमाथि निर्णय गर्दै मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको छ।
३. प्रदर्शन जाँचबुझ प्रतिवेदन अध्ययन समितिको म्याद थप
गृह मन्त्रालयकै अर्को प्रस्तावमाथि छलफल गर्दै सरकारले संवत् २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घटेको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन अध्ययन समितिको म्याद थप गरेको छ। प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त समितिको कार्यावधि थप ४५ दिनका लागि बढाउने निर्णय भएको छ।
४. भूमि समस्या समाधान समितिले पायो पूर्णता
भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा सरकारले भूमि समस्या समाधान समितिका रिक्त पदहरूमा नियुक्ति गर्दै समितिलाई पूर्णता दिएको छ। निर्णय अनुसार समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोला नियुक्त भएका छन्।
यसैगरी समितिको सदस्यहरूमा काठमाडौँका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौँकी डा. रोना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।