नयाँ दिल्ली । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। सत्तारूढ भाजपाको निमन्त्रणामा सोमबार दिल्ली पुगेका लामिछानेलाई भाजपाका राष्ट्रिय नेताहरूले केन्द्रीय कार्यालयमा स्वागत गरेका हुन्।
लामिछानेको स्वागतका लागि भाजपा मुख्यालयमा रातो कार्पेट बिछ्याइनुका साथै परम्परागत बाजागाजाको समेत व्यवस्था गरिएको थियो। सो अवसरमा भाजपा नेता र सभापति लामिछानेबिच उपहार आदानप्रदान भएको छ। भेटका क्रममा लामिछानेले भाजपा नेतालाई रुद्राक्षको माला लगाइदिएका छन्।
भ्रमणको दोस्रो दिन आज (मंगलबार) देखि लामिछानेले उच्चस्तरीय राजनीतिक भेटवार्ता सुरु गरेका छन्। रास्वपा प्रवक्ता मनिष झाका अनुसार भाजपाका नेताहरूसँग हुने यी भेटवार्ताहरूमा दुई दलबिचको सङ्गठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विविध पक्षमा विचार आदानप्रदान हुने कार्यसूची छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको यस भ्रमणका क्रममा लामिछाने अयोध्या जाने कार्यक्रम समेत तय भएको छ। आगामी जेठ २२ गतेसम्म सञ्चालन हुने यस भ्रमण टोलीमा लामिछानेसहित उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी रहेका छन्।