खेलकुद डेस्क । फिफाले आगामी जुन ११ देखि सुरु हुन लागेको फिफा विश्वकप २०२६ मा खेलको गति बढाउन र समय खेर फाल्ने (Time Wasting) प्रवृत्ति रोक्न रेफ्रीहरूलाई विशेष निर्देशन दिएको छ । खेललाई थप रोचक र गतिशिल बनाउन फिफाले केही नयाँ र कडा नियमहरू कार्यान्वयनमा ल्याउन लागेको हो ।
फिफाका रेफ्री प्रमुख पिएरलुइजी कोलिनाले खेल अनावश्यक रूपमा रोक्ने वा ढिलाइ गर्ने गतिविधिलाई न्यूनतम बनाउने लक्ष्यका साथ नयाँ व्यवस्था गरिएको बताएका छन् ।
गोलकिक र थ्रो-इनमा ‘काउन्टडाउन’
नयाँ व्यवस्थाअनुसार खेलका क्रममा गोलकिक वा थ्रो-इन लिन ढिलाइ गरेमा रेफ्रीले पाँच सेकेन्डको दृश्यात्मक गणना (Visual Countdown) सुरु गर्न सक्नेछन् । तोकिएको समयभित्र गोलकिक नलिए विपक्षी टोलीले कर्नर किकको अवसर पाउनेछ भने थ्रो-इन लिन ढिलाइ गरे बल विपक्षी टोलीलाई हस्तान्तरण गरिनेछ ।
यसैगरी, मैदानबाट बाहिरिने (सब्स्टिच्युट हुने) खेलाडीले १० सेकेन्डभित्र मैदान छाडिसक्नुपर्ने नियम बनाइएको छ । गम्भीर चोटपटक वा सुरक्षा सम्बन्धी विशेष अवस्थाबाहेक खेलाडीले मैदान छाड्न ढिलाइ गरेमा रेफ्रीले कारबाही गर्न सक्नेछन् ।
मुख छोपेर आक्रामक रूपमा बोले सिधै रातो कार्ड
फिफाले अनुशासनको क्षेत्रमा पनि नयाँ नियम थपेको छ । खेलका क्रममा रेफ्री वा विपक्षी खेलाडीसँग मुख छोपेर आक्रामक वा विवादास्पद ढङ्गले कुरा गर्ने खेलाडीलाई रेफ्रीले सिधै रातो कार्ड (Red Card) देखाउन सक्नेछन् । ओठको हाउभाउ (Lip-reading) लुकाएर गालीगलौज वा दुर्व्यवहार गर्ने प्रवृत्ति रोक्न यो नियम ल्याइएको हो । यद्यपि, सामान्य र सौहार्दपूर्ण संवादका क्रममा मुख छोपिएको अवस्थामा भने कारबाही हुने छैन ।
भीएआर (VAR) को दायरा थप स्पष्ट
भिडियो सहायक रेफ्री (VAR) सम्बन्धी नियमलाई पनि फिफाले थप स्पष्ट पारेको छ । अबदेखि गलत रूपमा दोस्रो पहेँलो कार्ड दिएर खेलाडी बाहिरिएको अवस्था, गल्तीवश अर्कै खेलाडीलाई कार्ड देखाइएको स्थिति तथा गलत रूपमा दिइएका कर्नरहरू जस्ता निर्णयहरूको समीक्षाका लागि पनि भीएआर प्रयोग गर्न सकिनेछ ।
खेलको गति बढाउने र समय बचत गर्ने प्रयास गरिए पनि खेलाडीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै विश्वकपका प्रत्येक खेलमा दुवै हाफको बीचतिर (मिड-हाफ) तीन मिनेटको ‘वाटर ब्रेक’ (पानी पिउने विश्राम) भने दिइने फिफाले जनाएको छ ।