काठमाडौँ, १८ जेठ ।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै आफू लज्जित हुनुपरेको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले देशको कार्यकारी प्रमुखबाट यतिसम्म कमजोर, मिथ्या र तथ्यहीन जवाफ आउने कल्पनासमेत नगरेको टिप्पणी गरे। आइतबारको प्रश्नोत्तर सेसनमा प्रधानमन्त्रीलाई प्रश्न सोधेका राईले आज संसद्मा आक्रोश पोख्दै भने, “मलाई हाम्रो प्रधानमन्त्रीज्यूले यति कमजोर र तथ्यहीन उत्तर दिनुहुन्छ भन्ने थाहा भएको भए म हिजो त्यो प्रश्न नै सोध्ने थिइनँ। आज मलाई आफैँप्रति लज्जास्पद अनुभूति भइरहेको छ।”
सांसद राईले प्रधानमन्त्री बालेनको उक्त राष्ट्रघाती र विवादास्पद अभिव्यक्ति तत्काल संसदीय रेकर्ड (रेकर्डबुक) बाट हटाउनुपर्ने र प्रधानमन्त्रीले संसद्मा माफी माग्नुपर्ने माग गरे।
आफ्नो पार्टी देश बचाउने र राष्ट्रियताको रक्षा गर्ने सर्तमा संसद्मा आएको प्रष्ट पार्दै राईले यो माग पूरा नभएसम्म र प्रधानमन्त्रीले माफी नमागेसम्म संसद्को कारबाही अगाडि बढ्न नदिने चेतावनीसमेत दिए। प्रधानमन्त्रीको सोही भनाइलाई लिएर आज प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेसहितका विपक्षी दलहरूले संसद्मा नाराबाजी र अवरोध जारी राखेका छन्।