काठमाडौँ, १८ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन्। सोमबार अपराह्न उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
रास्वपाको नेतृत्वमा नयाँ सरकार गठन भएयता सभापति लामिछानेको यो पहिलो औपचारिक विदेश भ्रमण हो। भ्रमण दलमा उनीसँगै श्रीमती निकिता पौडेल पनि सहभागी छिन्। नेपालमा विकसित नयाँ राजनीतिक घटनाक्रम र संसद्मा सीमा विवादलाई लिएर बहस भइरहेका बेला सत्तारुढ दलका प्रमुख घटकमध्येका एक नेताको यस भ्रमणलाई राजनीतिक वृत्तमा निकै चासो र महत्त्वका साथ हेरिएको छ।
नयाँ दिल्लीमा रहँदा सभापति लामिछानेले भारत सरकारका उच्चपदस्थ अधिकारी, राजनीतिक नेतृत्व तथा कूटनीतिज्ञहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। रास्वपा स्रोतका अनुसार यस भ्रमणका क्रममा दुई देशबीचको राजनीतिक सम्बन्ध, आपसी हित, सहकार्य र समसामयिक विषयमा सघन संवाद हुने अपेक्षा गरिएको छ।