काठमाडौँ, १८ जेठ ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा संसद्मा दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले आज (सोमबार) पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालय (सिंहदरबार) मा बसेको विपक्षी दलहरूको आकस्मिक बैठकले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका विरुद्ध सदनमा सशक्त प्रतिवाद गर्ने र ‘बेल घेराउ’ गर्ने साझा रणनीति तय गरेको हो।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेनले “नेपालले पनि भारतको सीमा मिचेको” भन्ने आशयको अभिव्यक्ति दिएका थिए। विपक्षी दलहरूले सो अभिव्यक्तिको कडा निन्दा गर्दै त्यसले देशको सार्वभौमिकता र सीमामाथि गम्भीर आँच पुर्याएको ठहर गरेका छन्। प्रधानमन्त्रीले उक्त विषयमा संसद्मा उपस्थित भएर चित्तबुझ्दो प्रष्टीकरण नदिएसम्म संसद् चल्न नदिने अडान विपक्षी मोर्चाको छ।
बैठकमा सहभागी नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया ‘सिता’ले प्रधानमन्त्रीले देशको सीमा जस्तो संवेदनशील विषयमा गैरजिम्मेवारपूर्ण जवाफ दिएकाले संसद् अवरोध गर्न बाध्य हुनुपरेको जानकारी दिइन्। “प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सीमामाथि नै धावा बोलेको छ, त्यसबारे सदनमा प्रष्टीकरण आउनैपर्छ,” उनले भनिन्।
सिंहदरबारमा बसेको उक्त सर्वदलीय बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, एमाले उपनेता पद्मा अर्याल, र प्रमुख सचेतक ऐन महरको उपस्थिति थियो।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली, श्रम संस्कृति पार्टीका आरेन राई, ध्रुवराज राई, कांग्रेस प्रमुख सचेतक बासना थापा र सचेतक निष्कल राईसहित विपक्षी गठबन्धनका प्रमुख नेताहरूको सहभागिता रहेको थियो।
यो अधिवेशन सुरु भएदेखि नै विभिन्न माग राख्दै निरन्तर संसद् अवरोध गर्दै आएका विपक्षी दलहरूले प्रधानमन्त्रीको यो नयाँ अभिव्यक्तिपछि आन्दोलनलाई थप सशक्त बनाउने संकेत दिएका छन्। आज बस्ने प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलहरूको घेराबन्दीका कारण सदनको कारबाही प्रभावित हुने निश्चित देखिएको छ।