काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्ति पूर्णतः तथ्यहीन भएको टिप्पणी गरेका छन्।
आइतबार संघीय संसद् भवन, सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक राईले उक्त कुरा बताएका हुन्। उनले सार्वभौम संसद्मा प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले विनातथ्य यस्तो गम्भीर विषयमा कुरा गर्नु अशोभनीय भएको टिप्पणी गरे।
यसका साथै, प्रधानमन्त्री साहले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे दिएको अभिव्यक्ति पनि सुझबुझपूर्ण नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
“नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने दाबी कि त तथ्यसम्मत ढंगले प्रमाणित गर्न सक्नुपर्यो, कुन-कुन ठाउँ मिचिएको हो स्पष्ट भन्न सक्नुपर्यो। तर, प्रधानमन्त्रीज्यूले सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधिहरू उपस्थित संसद्मा आएर हामीले पनि भारतको सीमा मिचेका छौँ भनी एक खालको तथ्यहीन कुरा गर्नुभयो, जसमा हाम्रो गम्भीर आपत्ति छ। मानव अधिकार आयोगबारे उहाँको टिप्पणी पनि परिपक्व देखिएन।”
सचेतक राईले प्रधानमन्त्री साहले संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको चित्तबुझ्दो र जिम्मेवार जवाफ दिन नसकेको जिकिरसमेत गरे।