जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

  • आइतवार, जेष्ठ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

टीकापुर (कैलाली), १७ जेठः स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच वृद्धिका लागि प्राथमिकता दिने गरी नीति, कार्यक्रम तथा बजेट व्यवस्थापनका लागि माग गरिएको छ ।

यहाँका बालबालिकाले आगामी आर्थिक वर्षको बजेटमा विपन्न, अभिभावकविहीन तथा समस्यामा रहेका बालबालिकालाई प्राथमिकतामा राख्न त्यस्तो माग गरेका हुन् । बालिका बिनिता चौधरीले बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारमा काम गर्नुपर्ने, बालविवाह, बालश्रम, बालहिंसा रोकथाममा पालिकाले नीति तथा कार्यक्रममै व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

अर्की बालिका निर्मला विकले बालिका बलात्कार तथा यौनजन्य हिंसाको जोखिममा परिरहेकाले यौन दुव्र्यवहारबाट सुरक्षा, जोखिममा रहेका बालबालिकाको संरक्षणको जिम्मा पालिकाले लिनुपर्ने माग गर्नुभयो । बालिका किरण लोनियाले बालबालिकाका लागि हरेक विद्यालयमा पुस्तकालय, खेलमैदान, कला र संस्कृति संरक्षण र नेतृत्व विकासमा लगानी गर्नुपर्ने माग गर्नुभयो ।
“मुश्लिम बस्तीमा अहिले पनि बालविवाह छ, धेरै अभिभावकले छोरीलाई विद्यालय पठाउँदैनन्”, उहाँले भन्नुभयो, “बालविवाहका कारण धेरै बालिका समस्यामा छन् । उमेर नपुग्दै आमा बन्छन् । मुश्लिम समुदायलाई यस्ता सवालम सचेत बनाउन, शिक्षा र स्वास्थ्यमा लगानी बढाइदिन आग्रह छ ।”

कैलारी गाउँपालिकाका दिपु चौधरीले अपाङ्गता भएका बालबालिकाका लागि विशेष सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गर्नुभयो । “स्थानीय पालिकामा योजना छनोट गर्दा बस्तीस्तरमा हुने भेला, वडास्तरीय छलफललगायत कार्यमा हामीलाई पनि सहभागी गराइदिनुस”, उहाँ भन्नुहुन्छ, “विद्यालयमा खानेपानी तथा सरसफाइको कमी छ । शौचालय व्यवस्थित छैनन्, यसतर्फ पनि लगानी बढाउनुप¥यो ।”

कतिपयले बालबालिकामाथि अनलाइन दुव्र्यवहार र साइबर जोखिम बढेको गुनासो गर्दै सुरक्षित इन्टरनेटको प्रयोगबारे जनचेतना जगाउनुपर्ने माग गरेका छन् । यसका साथै महिनावारी व्यवस्थापनमा सहयोगका लागि हरेक विद्यालयमा सम्पर्क शिक्षकका रूपमा महिला शिक्षकलाई राख्नुपर्ने माग गरेका छन् ।

हालै यहाँको भजनीमा आयोजित कार्यक्रममा सहभागी बालबालिकाले यस्तो माग गरेका हुन् । गर्मीमा पर्याप्त पङ्खा नहुँदा विद्यालयमा अध्ययन गर्न समस्या भइरहेको, शौचालय फोहोर हुँदा संक्रमणको जोखिम रहेको र समुदायमा अझै छाउपडी प्रथा रहेकाले पठनपाठनमा चुनौती रहेको बालबालिकाको गुनासा छन् ।

कार्यक्रम वल्ड भिजन इन्टरनेशनल नेपाल र बालकल्याण सङ्घ टीकापुरको आयोजनामा कैलालीमा सञ्चालित बाल समृद्धिका लागि हातेमालो तथा एकीकृत विकास कार्यक्रमअन्तर्गत भएको हो । कार्यक्रममा भजनी नगरपालिका, महिला बालबालिका शाखा प्रमुख रिजु चौधरीले बालविवाह, लागू अवस्था दुव्र्यसन, बीचैमा विद्यालय छोड्ने दर र बालबालिकामा आत्महत्याका घटना बढ्दै गएको बताउनुभयो ।

नगर उपप्रमुख राजु तिरुवाले पालिकाले बालविवाह न्यूनीकरणका लागि मुस्लिम बस्तीमा परिवार नियोजन गर्ने महिलालाई प्रोत्साहनका कार्यक्रम अगाडि बढाइएको र त्यसलाई विस्तार गरिने योजना सुनाउनुभयो । “हामीले प्रोत्साहनका लागि कम्बल वितरणलगायत कार्यक्रम गरिरहेका छौँ । पहिलो वर्ष तीनजना मात्रै आएकामा दोस्रो वर्ष २६ महिलाले बन्ध्याकरण गरेको भनेर सम्पर्क गरेका छन्”, उहाँ भन्नुभयो, “यो कार्यक्रम आगामी दिनमा पनि निरन्तर रहने छ । नागरिकलाई सचेत गराउन विभिन्न कार्यक्रम र लाखौँ लगानी गरिरहेको भए पनि प्रतिफल खासै नदेखिएकाले रणनीति बदल्दैछौँ ।”

नगरप्रमुख केवल चौधरीले बालबालिकाका समस्यामा आफू गम्भीर रहेको भन्दै कार्यक्रममा उठेका जिज्ञासा सम्बोधन, समस्या भएका विद्यालयमा शिक्षा शाखासँग समन्वय गरेर सुधारका प्रयास गरिने बताउनुभयो ।

बालकल्याण सङ्घका संरक्षण अधिकृत इन्द्रराज जोशीले परियोजनाले बालबालिकाको शिक्षामा पहुँच र निरन्तरता बढाउन जोखिममा रहेका बालबालिकाको सुरक्षा र संरक्षण गरिने बताउनुभयो । उहाँले बालबालिकाको सहभागिता बढाउन, किशोर किशोरीलाई जीवन उपयोगी शिक्षा दिन, बालविवाह, बालश्रम, हिंसा तथा दुव्र्यवहारविरुद्ध अभियान सञ्चालन गरिएको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरीले पालिकाले अति विपन्न, अभिभावकविहीन बालबालिकालाई सहयोग, स्वास्थ्य परीक्षण, क्षमता विकासका लागि विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । “हाल बस्तीस्तरमा टोल भेला भइरहेकाले आफ्ना योजना समावेश गर्न भेलामा सहभागिताका लागि बालबालिकालाई आग्रह गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “बालबालिकाको पोषण सुधार, पत्रु खानाको प्रयोग कम गर्न अभिभावक र बालबालिका जिम्मेवार बनाउन आवश्यक रहेकाले सोहीअनुसार कार्यक्रम गर्छौं ।”

कैलारी—८ का वडाध्यक्ष तारामल कठरियाले बालबालिकालाई तत्काल योजना ल्याउन आग्रह गर्दै केही योजना सम्बोधन गर्न आफूहरूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बालविवाह, लागुऔषध नियन्त्रणमा प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।

वडासदस्य लक्ष्मी चौधरीले पहिलो पटक बालबालिकाका धेरै माग सुन्न पाउँदा खुसी लागेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ