१६ जेठ, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुराना राजनीतिक दलहरूलाई सिध्याउने षडयन्त्र भइरहेको दाबी गरेका छन्।
शुक्रबार अन्तरपार्टी निर्देशन (अपानि)–२ जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रका लागि लामो संघर्ष गरेका दलहरूलाई विस्थापित गर्ने खेल भइरहेको बताएका हुन्। ‘नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ,’ ओलीले अपानिमा उल्लेख गरेका छन्।
‘प्रतिनिधिसभा पुनर्स्थापनामा अरु दलले साथ दिएनन्’
गत २३ र २४ भदौको घटनापछि प्रतिगमनतर्फ धकेलिएको मुलुकलाई सही ट्र्याकमा फर्काउन एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेण्डा अगाडि सारेको ओलीको भनाइ छ। तर, अन्य दलहरूले यसमा साथ नदिएकै कारण आफूहरू बाध्य भएर चुनावमा होमिनु परेको प्रष्टोक्ति उनले दिएका छन्।
‘प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधिसभाको पुनर्स्थापना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरूले साथ नदिएका कारण हाम्रो पार्टी समेत निर्वाचनमा जानु परेको थियो,’ ओलीले लेखेका छन्।
चुनावी परिणाम र प्रक्रियामा शङ्का
अरु दलले साथ नदिँदा चुनावमा जानुपरे पनि सो निर्वाचनमा एमालेले अपेक्षित जित हासिल गर्न नसकेको ओलीले स्वीकार गरेका छन्। उनले लेखेका छन्, ‘निर्वाचनको परिणाम हाम्रो पार्टीको पक्षमा रहेन नै, नेपालका प्रमुख लोकतान्त्रिक पार्टीहरूको पक्षमा समेत रहेन।’
यसैगरी अध्यक्ष ओलीले निर्वाचन प्रक्रियामाथि समेत शङ्का व्यक्त गरेका छन्। यद्यपि, यसबारे पार्टीले छुट्टै समीक्षा प्रतिवेदन ल्याउने उनले जानकारी दिए। ‘यो निर्वाचन अघिपछिको निर्वाचन जस्तो रहेन। यसको परिणाम पनि स्वाभाविक देखिएन,’ अपानिमा भनिएको छ, ‘यस सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदनमार्फत आफ्नो दृष्टिकोण छिट्टै बाहिर ल्याउने नै छ।’