काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्नु सबैको पहिलो जिम्मेवारी भएको बताएका छन्। गणतन्त्र दिवस-२०८३ को अवसरमा शुभकामना सन्देश दिँदै उनले परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने प्रयासप्रति सचेत रहन आम नागरिक र राजनीतिक दलहरूलाई आह्वान गरेका हुन्।
उनले नेपाली जनताको ऐतिहासिक संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा एकजुट हुन सबैलाई आग्रह गरे।
अध्यक्ष प्रचण्डले देशलाई राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन राष्ट्रिय एकताको खाँचो औंल्याएका छन्।
“हामीबीच राजनीतिक मतभेद हुन सक्छन् र संसदीय परिपाटीमा संख्यात्मक अंकगणित फरक हुन सक्छ, तर राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्य हाम्रो संस्कार बन्नुपर्छ,” सन्देशमा भनिएको छ, “सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण गर्नु हाम्रो साझा राष्ट्रिय संकल्प हो।”
नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान र त्यागको ऐतिहासिक उपलब्धि भएको प्रचण्डको भनाइ छ। यो व्यवस्था कुनै व्यक्ति वा दल विशेषको नभएर परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा सम्पत्ति भएको उनले उल्लेख गरे।
उनले थपे, “संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई छैन।”
राज्य सञ्चालनमा रहेका कमजोरीहरूलाई सच्याउनुपर्नेमा जोड दिँदै प्रचण्डले परम्परागत र स्वेच्छाचारी परिपाटीको अन्त्य गर्नुपर्ने बताए। जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान हुने उनको तर्क छ।
“गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र नै हो,” समावेशी र पूर्ण समानुपातिक व्यवस्थालाई सुनिश्चित गर्दै उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रको अधिकारलाई झनै मजबुत बनाउनु आजको अपरिहार्य आवश्यकता भएको उनले बताएका छन्।