काठमाडौँ, १५ जेठ — नेपाली राष्ट्रिय महिला क्रिकेट टोली मलेसियामा जारी एसियन गेम्स महिला छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इन्डोनेसियामाथि ४ विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल अपराजित रहँदै अन्तिम चारमा पुग्न सफल भएको हो।
मलेसियाको वायोमास ओभलमा बिहीबार सम्पन्न खेलमा इन्डोनेसियाले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। नेपालको जितमा कप्तान इन्दु बर्माले अविजित ४२ रनको महत्त्वपूर्ण इनिङ खेलिन्। त्यस्तै सोनी पाख्रिनले २९, कविता कुँवरले १४ तथा सीता रानामगरले अविजित १३ रनको योगदान दिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रनको योगफल तयार पारेको थियो। उसका लागि कप्तान नि पुतु आयु नन्द सकरिनीले अविजित ५६ रनको अर्धशतकीय पारी खेलेकी थिइन्। बलिङतर्फ नेपालकी मनिषा उपाध्यायले २ तथा रिया शर्माले १ विकेट लिए।
यस जितसँगै समूह ‘बी’ मा रहेको नेपालले २ खेलबाट स्पष्ट ४ अंक जोड्दै समूह विजेताको रूपमा सेमिफाइनलको यात्रा तय गरेको छ। यसै समूहबाट १ खेलमा जित र १ खेलमा हार ब्यहोरेको चीन २ अंकसहित उपविजेता बन्दै सेमिफाइनल पुगेको छ भने अंकविहीन इन्डोनेसिया प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।
यता समूह ‘ए’ बाट थाइल्यान्ड ४ अंकसहित शीर्ष स्थानमा र घरेलु टोली मलेसिया २ अंकसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेका छन्। यस समूहबाट हङकङ बाहिरिएको छ। अब सेमिफाइनलमा समूह ‘बी’ को विजेता नेपालले समूह ‘ए’ को उपविजेता मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।