कांग्रेसमा १७ पदाधिकारी, २४० सदस्यीय केन्द्रीय समिति

कांग्रेसमा १७ पदाधिकारी, २४० सदस्यीय केन्द्रीय समिति

  • बिहिबार, जेष्ठ १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको आकार उल्लेखनीय रूपमा विस्तार गर्दै नयाँ विधान लागू गरेको छ। विशेष महाधिवेशनबाट पारित संशोधित विधानअनुसार अब कांग्रेसको केन्द्रीय समिति १७ पदाधिकारीसहित २४० सदस्यीय हुने भएको छ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले विधान संशोधन पारित गरेको थियो। उक्त विधान निर्वाचन आयोगबाट समेत प्रमाणित भइसकेको कांग्रेसले जनाएको छ।

यसअघि १४औँ महाधिवेशनबाट पारित विधानअनुसार १४ पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था थियो। नयाँ संशोधनसँगै अब निर्वाचित, मनोनीत र पदेन सदस्यहरू समेटेर केन्द्रीय कार्यसमितिको आकार २४० सदस्यीय पुगेको हो।

१७ पदाधिकारीमध्ये १३ निर्वाचित, ४ मनोनीत

संशोधित विधानअनुसार कांग्रेसमा अब कुल १७ पदाधिकारी रहनेछन्। तीमध्ये १३ जना निर्वाचित र ४ जना सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ।

निर्वाचित पदाधिकारीमा सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ जना रहनेछन्। सहमहामन्त्री पदमा महिला, आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्रबाट अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

त्यस्तै, सभापतिले निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट ३ सहमहामन्त्री (एक महिलासहित) र १ कोषाध्यक्ष मनोनीत गर्न सक्नेछन्। मनोनीत पदाधिकारीलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउनुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रीय समितिमा समावेशी प्रतिनिधित्वलाई प्राथमिकता

विधानले महिला तथा समावेशी प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिएको छ। केन्द्रीय समितिमा कम्तीमा एक तिहाइ महिला अनिवार्य हुने व्यवस्था गरिएको छ।

खुलातर्फ ३५ जना र महिला खुलातर्फ ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट ३–३ जनाका दरले २१ सदस्य निर्वाचित गरिनेछ, जसमा प्रत्येक प्रदेशबाट कम्तीमा एक महिला अनिवार्य हुनेछ।

समावेशी क्लस्टरअन्तर्गत ५४ सदस्य निर्वाचित हुनेछन्। यसमा आदिवासी जनजाति १५, खसआर्य १३, दलित १०, मधेशी ९, थारू ४, मुस्लिम ३ र पिछडिएको क्षेत्रबाट १ सदस्य रहने व्यवस्था गरिएको छ। विभिन्न क्लस्टरमा महिलाका लागि छुट्टै कोटा पनि निर्धारण गरिएको छ।

युवालाई पनि प्राथमिकता

नयाँ विधानले ३५ वर्षमुनिका युवाहरूको प्रतिनिधित्वलाई समेत सुनिश्चित गरेको छ। युवातर्फ २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ, जसमा प्रत्येक प्रदेशबाट २–२ जना र खुलाबाट ७ जना निर्वाचित हुनेछन्। प्रदेशबाट निर्वाचित हुने दुई जनामध्ये एक महिला अनिवार्य गरिएको छ।

यसैगरी, पेसागत तथा विषयगत क्षेत्रबाट ७ जना, जनसम्पर्क समिति (विदेश) बाट ६ जना तथा अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिबाट २ जना निर्वाचित हुने व्यवस्था पनि विधानमा समेटिएको छ।

 सभापतिलाई ६१ सदस्य मनोनीत गर्ने अधिकार

संशोधित विधानले सभापतिलाई थप शक्तिशाली बनाएको चर्चा पनि सुरु भएको छ। विधानअनुसार सभापतिले ६१ जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्नेछन्।

कांग्रेसले यसलाई समावेशी सन्तुलन र विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक व्यवस्था भएको बताएको छ। मनोनयन गर्दा पनि कम्तीमा एक तिहाइ महिला सहभागिता कायम गर्नुपर्ने प्रावधान राखिएको छ।

त्यस्तै, प्रतिनिधिसभा संसदीय दलका नेता र सातै प्रदेशका सभापतिहरू पदेन केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगबाट विधान प्रमाणित

कांग्रेस महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट पारित विधान निर्वाचन आयोगबाट प्रमाणित भएर आएको जानकारी दिएका छन्।

उनले केन्द्रीय समिति र पदाधिकारीको सङ्ख्या केही बढाइएको स्वीकार गर्दै नयाँ संरचनाले पार्टी सञ्चालनलाई थप व्यवस्थित र समावेशी बनाउने बताएका छन्।

 यस्तो थियो पुरानो संरचना

१४औँ महाधिवेशनबाट पारित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय थियो। त्यसमा १३४ निर्वाचित र ३३ मनोनीत सदस्य रहने व्यवस्था थियो।

त्यतिबेला १४ पदाधिकारी रहने व्यवस्था थियो, जसमा सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित हुन्थे भने कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने व्यवस्था थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ