ललितपुरमा पूर्वाधार र सम्पदाको काम सकियो, अब शिक्षा र स्वास्थ्यमा बजेट बढाउँछौँ: चिरिबाबु महर्जन

ललितपुरमा पूर्वाधार र सम्पदाको काम सकियो, अब शिक्षा र स्वास्थ्यमा बजेट बढाउँछौँ: चिरिबाबु महर्जन

  • बिहिबार, जेष्ठ १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरभित्र पूर्वाधार विकास र सम्पदा संरक्षणका अधिकांश काम सम्पन्न भइसकेकाले अब शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा बजेट केन्द्रित गरिने बताएका छन्।

बिहीबार ललितपुरमा आयोजित अंगदात सम्मान कार्यक्रममा बोल्दै मेयर महर्जनले पाटन दरबार स्क्वायर क्षेत्रका मठमन्दिर, शिवालय तथा अन्य ऐतिहासिक सम्पदाको पुनर्निर्माण र संरक्षणको काम लगभग पूरा भएको जानकारी दिए।

उनले भने, “ललितपुर महानगर क्षेत्रमा सम्पदासम्बन्धी धेरैजसो काम सम्पन्न भइसकेको छ। पाटन दरबार स्क्वायरका मठमन्दिर, देवालय र अन्य सम्पदाको संरक्षण तथा पुनर्निर्माणको काम लगभग सकिएको छ। अब यस क्षेत्रमा धेरै बजेट छुट्याउनुपर्ने अवस्था छैन।”

मेयर महर्जनका अनुसार महानगरमा पछि समावेश भएका खोकना, हरिसिद्धी, बुङमती र धापाखेल क्षेत्रमा केही पूर्वाधार विकासका काम बाँकी रहेका छन्। तर ती क्षेत्रमा पनि आधारभूत विकासका काम अन्तिम चरणमा पुगेकाले अब अतिरिक्त बजेटको आवश्यकता कम हुँदै गएको उनले बताए।

“खोकना, हरिसिद्धी, बुङमती र धापाखेलमा केही पूर्वाधार निर्माणका काम बाँकी छन्। तर समग्रमा महानगरको विकासले गति लिइसकेको छ,” उनले भने।

उनले आगामी आर्थिक वर्षको बजेट शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा केन्द्रित हुने स्पष्ट पारे। महानगरले विशेषगरी स्वास्थ्य सेवामा पछिल्ला वर्षहरूमा निरन्तर लगानी बढाउँदै आएको पनि उनले उल्लेख गरे।

“अब हाम्रो मुख्य प्राथमिकता शिक्षा, स्वास्थ्य र रोजगारी हो। पूर्वाधारमा जस्तो ठूलो लगानी आवश्यक छैन। नागरिकको जीवनस्तर सुधार गर्न सामाजिक क्षेत्रमा ध्यान दिनुपर्छ,” महर्जनले बताए।

यसैबीच, मेयर महर्जनले ललितपुर महानगरभित्रको चलपथ क्षेत्रमा चार महिनाभित्र स्मार्ट लाइट जडानको काम सम्पन्न हुने जानकारी पनि दिए। उनले स्मार्ट लाइट प्रणालीले शहरलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ