काठमाडौँ, १४ जेठ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदहरूमा हर्षोल्लासका साथ मनाइँदै छ।
इस्लामिक पात्रोअनुसार इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीहरूले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ। नमाज पढिसकेपछि उनीहरू एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्छन्।
यस अवसरमा काठमाडौँको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहहरूमा मुस्लिम धर्मावलम्बीको ठूलो भिड लाग्ने गर्छ। हिजरी संवत्अनुसार अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान (कुर्बानी) गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए।
मुस्लिम धर्मगुरु (मौलाना) रहमत अलीका अनुसार, ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमकै वंशमा सन् ५७१ मा मक्कामा पैगम्बर मोहम्मदको जन्म भएको थियो, जसले यो पर्व र इस्लाम धर्मलाई पुस्तान्तरण गर्न महत्त्वपूर्ण योगदान गर्दै ‘हदिस’ नामक धर्मग्रन्थको रचना गरे।
“जुन ग्रन्थलाई हाल मुस्लिम धार्मिक विद्यालय (मदरसा) हरूमा समेत अध्ययन-अध्यापन गराइन्छ। मक्कामा जन्मिनुभएका मोहम्मद ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको इतिहास छ। त्यही सम्झनामा हाल पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गर्छ,” मौलाना अलीले भने।
यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो। बकर इदको अवसरमा मक्का-मदिना जानु अत्यन्त शुभ मानिन्छ। त्यहाँ जाने हजयात्रीहरूका लागि गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ। मक्का-मदिना जान नपाउने हजयात्रीहरूले भने घरघरमै बकर इद मनाउँछन्। यस पर्वमा अल्लाहलाई खुसी पार्न मुस्लिम धर्मावलम्बीहरूले ‘जायज’ (हलाल) मानिएका जनावरको कुर्बानी (बलि) दिने गर्छन्।
धार्मिक मान्यताअनुसार, अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट छोरा इस्माएललाई सन्तानका रूपमा प्राप्त गरेका थिए। पछि अल्लाहबाट उनै प्रिय छोरालाई कुर्बानी गर्नुपर्ने आदेश आयो। इब्राहिमले उक्त आदेश पालना गर्न लाग्दा अल्लाह प्रसन्न भएर इस्माएलको सट्टा स्वर्ग (जन्नत) मा पालिएको दुम्बा (भेडाको एक प्रजाति) को कुर्बानी भएको धार्मिक विश्वास छ। यसैकारण मुस्लिम समुदायमा कुर्बानी गर्ने प्रचलन कायम रहेको हो।
निःसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मन्नत मागेका थिए। अल्लाहले सन्तान सुख दिएमा कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता अनुरूप अल्लाहले उनको परीक्षा लिन सपनामा कुर्बानी गर्न आदेश दिएको विश्वास गरिन्छ।
उनले सुरुमा धेरै जनावर कुर्बानी गर्दा पनि अल्लाह खुसी नभएपछि, अन्तिममा आफ्ना सबैभन्दा प्यारा सन्तानलाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए। यस घडीमा उनको परीक्षा सफल साबित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको नभई जन्नतबाट आएको दुम्बाको बलि भएको किंवदन्ती छ।
परम्पराअनुसार कुर्बानीको मासुलाई तीन भागमा बाँडेर वितरण गरिन्छ। जसमा एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्र र आफन्तलाई तथा तेस्रो भाग आफैँले राख्नुपर्ने धार्मिक मान्यता छ।
मुस्लिम धर्मावलम्बीहरूले यो पर्व आगामी शनिबारसम्म अर्थात् तीन दिनसम्म मनाउनेछन्। तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धार्मिक विधि रहेको नेपाली जामे मस्जिदले जनाएको छ। बकर इदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।