काठमाडौं, १३ जेठ । सर्वोच्च अदालतले अदालतहरूमा मुद्दाको पेशी व्यवस्थापनका लागि लागू गरिएको ‘गोला प्रक्रिया’ यथावत् रहेको स्पष्ट पारेको छ। सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा गोला प्रक्रियाको विकल्प खोजिएको वा यसलाई परिवर्तन गर्न लागिएको भन्दै आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको अदालतले जनाएको हो।
बुधबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले हालसम्म गोला प्रक्रियालाई पुनर्विचार गर्ने वा परिवर्तन गर्ने विषयमा कुनै पनि औपचारिक छलफल, निर्णय वा धारणा नबनेको उल्लेख गरेको छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका त्यस्ता टिप्पणी तथा समाचारहरू तथ्यमा आधारित नभएको अदालतको भनाइ छ।
अदालतका अनुसार हाल ‘अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८’ बमोजिम नै नियमित रूपमा मुद्दाको पेशी व्यवस्थापन भइरहेको छ।
न्यायलयमा पारदर्शिता कायम गर्न सर्वोच्च अदालतमा १४ मंसिर २०७८ देखि गोला प्रक्रियाबाट पेशी निर्धारण गर्ने प्रणाली सुरु गरिएको थियो। उक्त प्रणालीलाई विस्थापित गर्न लागिएको भन्ने हल्ला भ्रमपूर्ण रहेको भन्दै अदालतले भ्रममा नपर्न समेत आग्रह गरेको छ।