काठमाडौं, १२ जेठ ।
पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्रीहरूको उपचारबापत राज्य कोषबाट ब्यहोरिएको ३ करोड ८५ लाख ९९ हजारभन्दा बढी रुपैयाँ एमालेले पार्टी कोषबाट सरकारी खातामा फिर्ता गरेपछि पार्टीभित्र विवाद चुलिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा राज्य कोषबाट विदेशमा गरिएको उपचार खर्चमाथि छानबिन थालेपछि एमालेले उक्त रकम फिर्ता गरेको थियो।
कार्यकर्ताको लेबीबाट उठेको रकम नेताहरूको गल्ती ढाकछोप गर्न खर्च गरिएको भन्दै एमालेका उपाध्यक्ष गोकर्ण बिष्टले हालै सम्पन्न सचिवालय बैठकमा गम्भीर प्रश्न उठाएका छन्। तर, अध्यक्ष केपी शर्मा ओलीले ती प्रश्नहरूलाई पूर्ण रूपमा बेवास्ता गरेको बैठक स्रोतले जनाएको छ।
चार दिनसम्म चलेर आइतबार राति सकिएको सचिवालय बैठकमा उपाध्यक्ष बिष्टले मिडियामा आएका समाचारहरूलाई उद्धृत गर्दै अध्यक्ष ओलीसँग प्रश्न गरेका थिए, “कार्यकर्ताहरूको लेबीबाट उठेको कोषबाट पैसा सरकारलाई फिर्ता गरियो भनेर समाचार आएको छ, भएको के हो? यस्तो गर्न मिल्छ कि मिल्दैन?” उक्त प्रश्नमा अन्य पदाधिकारीहरूको पनि समर्थन रहे तापनि अध्यक्ष ओलीले कुनै जवाफ नदिई बैठक टुङ्ग्याएका थिए।
यसअघि पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनालको विदेशमा भएको उपचार खर्चबापतको ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ एमालेले सरकारी कोषमा जम्मा गरिदिएको थियो।
यस विषयलाई लिएर एमाले कार्यकर्ता र पुराना नेताहरूले सामाजिक सञ्जालमा समेत तीव्र आक्रोश पोखिरहेका छन्। एमालेका पुराना नेता उदयराज पाण्डेले जिन्दगीभर पार्टीमा खट्ने कार्यकर्ता समस्यामा पर्दा नहेरिने तर ठूला नेताको अनियमित खर्च पार्टी कोषबाट तिरिने परिपाटीमाथि प्रश्न उठाएका छन्। यस्तै, अर्का नेता अरविन्द सिंहले लाखौँ सदस्यको लेबी आफ्नो कर्तुत लुकाउन सिध्याइएको भन्दै नेतृत्वको आलोचना गरेका छन्।