काठमाडौँ। साफ महिला च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन खेलमा आज (सोमबार) नेपालको राष्ट्रिय महिला फुटबल टोलीले भुटानको सामना गर्दै छ। भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु स्टेडियममा हुने उक्त खेल आज अपराह्न पौने ५ बजे सुरु हुनेछ।
साफ च्याम्पियनसिपको इतिहासमा नेपाल भुटानविरुद्ध सधैँ हावी हुँदै आएको छ। यद्यपि, घरेलु मैदानमा भएको अघिल्लो संस्करणमा नेपाली टोली भुटानसँग बराबरीमा रोकिएको थियो। पछिल्लो समय भुटानी महिला टोलीले आफ्नो स्तरमा निकै सुधार गरिरहेको छ भने नेपालको प्रदर्शन स्थिर देखिएको छ। तर, महिला फुटबलमा भुटानले अहिलेसम्म नेपाललाई पराजित गर्न भने सकेको छैन।
एञ्जिलाको कप्तानी, साम्बा र सविता बाहिर
नेपाली टोली आज गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ। नियमित कप्तान सावित्रा भण्डारी (साम्बा) उपचारका लागि कतारमा रहेकाले टोलीको नेतृत्व एञ्जिलाले सम्हालेकी हुन्।
साफ च्याम्पियनसिपमा पटक–पटक उपविजेता बनेको नेपालको मुख्य लक्ष्य यसपटक उपाधि जित्नु नै हो। तर, नेपालका लागि यो यात्रा सहज भने देखिँदैन। नियमित र अनुभवी स्ट्राइकर साम्बासँगै मिडफिल्डर सविता रानामगर पनि चोट (घुँडाको समस्या) का कारण मैदान बाहिर रहेकाले टोलीमा उनीहरूको अभाव महसुस हुन सक्छ।
टोलीको बनोट र नयाँ अनुहार
नेपाली टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने छन्। यसपटक गीता राना, सबिना चौधरी र अनिता केसीले टोलीमा पुनरागमन गरेका छन् भने सरस्वती हमाल र मनमाया दमाइ अन्तिम टोलीमा पर्न असफल भए। यस्तै, अनिता लम्जेल र बिर्सना चौधरी डेब्यु गर्ने मौकाको पर्खाइमा छन्।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भुटान र श्रीलंका रहेका छन् भने समूह ‘बी’ मा आयोजक भारत, बंगलादेश र मालदिभ्स छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। यसपटक नेपालको भेट सेमिफाइनलमै साविक विजेता बंगलादेश वा भारतमध्ये एक टोलीसँग हुने निश्चित देखिएकाले पनि नेपालको आगामी यात्रा केही कठिन हुने अनुमान गरिएको छ।
खेल तालिका
आजै हुने दोस्रो खेलमा आयोजक भारतले मालदिभ्सको सामना गर्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले जेठ १७ गते श्रीलंकाविरुद्ध खेल्नेछ। प्रतियोगिताको सेमिफाइनल जेठ २० गते र फाइनल भिडन्त जेठ २३ गते हुने तय भएको छ।
नेपाली अन्तिम टोली:
एञ्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अञ्जना रानामगर, उषा नाथ, पूजा राना, गीता राना, विमला विक, हीरा भुजेल, प्रतीक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर, सबिना चौधरी, रेनुका नगरकोटे, दीपा शाही, प्रीति राई, सरु लिम्बू, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा।