काठमाडौँ, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आगामी प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले महाधिवेशन तयारीका लागि विस्तृत तालिका सार्वजनिक गरेका हुन्। रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ।
सार्वजनिक कार्यतालिकामा देशका ७७ वटै जिल्ला र ७ वटै प्रदेशमा निर्वाचन समिति गठन गर्नेदेखि पालिका, जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्नेसम्मका कार्यक्रम समेटिएका छन्। यसका साथै महाधिवेशन प्रतिनिधिको नामावली संकलन र अन्तिम नामावली प्रकाशनका कामहरू समेत कार्यतालिकामा उल्लेख गरिएका छन्।
पार्टीले यस पटकको महाधिवेशनमा प्राविधिक पक्षलाई प्राथमिकता दिँदै निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) को प्रयोग गर्ने विषयमा पनि आवश्यक छलफल र तयारी अगाडि बढाउने जनाएको छ। कार्यतालिका सार्वजनिक भएसँगै रास्वपाले तल्लो तहदेखि नै महाधिवेशनको आन्तरिक तयारी र चुनावी सरगर्मीलाई तीव्र बनाएको छ।