काठमाडौँ, १० जेठ (२०८३) नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो जित दर्ता गर्दै काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा स्थान पक्का गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
एकपक्षीय खेलमा नेपालले मालदिभ्समाथि सुरुदेखि नै दबाब कायम राखेको थियो। नेपालले खेल २५–१२, २५–९ र २५–२० को सोझो सेटमा आफ्नो पक्षमा पार्यो। आइतबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेकी नेपाली टोलीकी कप्तान निरुता ठगुन्ना ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्।
यो जितसँगै नेपालले अंक तालिकामा ७ अंक जोड्दै सेमिफाइनल यात्रा तय गरेको छ। नेपाल समूह चरणको पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३–२ को सेटमा पराजित भएको थियो, जहाँबाट नेपालले १ अंक बटुलेको थियो। त्यसपछिको दोस्रो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले ३ अंक जोडेको थियो।
हाल अंक तालिकामा ५ अंकसहित भारत दोस्रो र ३ अंकसहित किर्गिस्तान तेस्रो स्थानमा छन्। समूह चरणका सबै खेल खेलेको मालदिभ्सले भने कुनै अंक जोड्न सकेन।
समूह चरणको अन्तिम खेलमा सोमबार भारत र किर्गिस्तान आमनेसामने हुनेछन्। यस खेलले सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लगाउनेछ। यदि उक्त खेलमा भारत सोझो सेटमा पराजित भएमा किर्गिस्तान सेमिफाइनलमा प्रवेश गर्नेछ, अन्यथा भारत अन्तिम चारमा पुग्नेछ।
आइतबार नै भएका अन्य खेलहरूमा इरान र कजाकस्तानले सहज जित दर्ता गरेका छन्। पहिलो खेलमा इरानले श्रीलंकालाई २५–१६, २५–१३ र २५–११ को सेटमा हरायो भने दोस्रो खेलमा कजाकस्तानले बंगलादेशलाई ३–० को सोझो सेटमा पाखा लगायो।
च्याम्पियनसिप अन्तर्गत सोमबार तीन खेलहरू हुनेछन्। पहिलो खेलमा बंगलादेश र श्रीलंका तथा दोस्रो खेलमा भारत र किर्गिस्तान भिड्नेछन्। दिनको अन्तिम खेलमा इरान र कजाकस्तानबीच प्रतिस्पर्धा हुनेछ।