काठमाडौं, ९ जेठ । नेपाल–भारत सम्बन्धमा देखिएको अनिश्चितताबीच निकै महत्त्वका साथ हेरिएको परराष्ट्रमन्त्री शिशिर खनालको आसन्न भारत भ्रमण स्थगित भएको छ। भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द भएपछि उत्पन्न कूटनीतिक अन्योलकै बीच आगामी जेठ १८ गते परराष्ट्रमन्त्री खनाल अन्तरसरकारी अन्तर्राष्ट्रिय समूह ‘बिग क्याट अलायन्स’ को सम्मेलनमा भाग लिन नयाँदिल्ली जान लागेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको उक्त सम्मेलनलाई नेपाल–भारत सम्बन्ध सुधारको महत्त्वपूर्ण कडीका रूपमा हेरिएको थियो। तर, भारतले इबोला भाइरसको कारण देखाउँदै तत्कालका लागि सम्मेलन स्थगित गरेको भारतीय अखबार ‘द हिन्दु’ ले लेखेको छ।
बाघ, चितुवा, हिउँचितुवा लगायत बिरालो प्रजातिका ठूला जनावरको संरक्षणसम्बन्धी यो सम्मेलन स्थगनबारे वक्तव्य जारी गर्दै भारतको वातावरण मन्त्रालयले भनेको छ:
“सबै सदस्य राष्ट्रहरूको व्यापक र सक्रिय सहभागिता सुनिश्चित गर्नका लागि सम्मेलन हाललाई सारिएको हो।”
सम्मेलन अब कहिले हुने भन्नेबारे निश्चित भइसकेको छैन। सहभागी देश र सरोकारवालाहरूसँगको परामर्शपछि मात्र नयाँ मिति घोषणा गरिने वक्तव्यमा उल्लेख छ। यो सम्मेलन जेठ १९ र २० गते हुने तय भएको थियो।
‘साइडलाइन’ वार्ता र कुटनीतिक पहल थाती
भ्रमणकै क्रममा भारतीय विदेशमन्त्री एस. जयशंकर र वाणिज्यमन्त्री पियूष गोयलसँग ‘साइडलाइन’ वार्ता गर्ने परराष्ट्र मन्त्रालयको तयारी थियो। औपचारिक रूपमा समय तय हुन बाँकी रहे पनि नेपालले ती वार्ताहरूमा उठाउने सम्भावित एजेन्डाबारे गृहकार्य गरिरहेको थियो। त्यस्तै, भारतीय विदेशमन्त्री जयशंकरलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिने तयारी समेत परराष्ट्रको थियो।
भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण तय भएको अवस्थामा फागुन २१ को निर्वाचनपछि झन्डै दुई–तिहाइ बहुमतसहित आएको नयाँ दलको नयाँ सरकारसँग भारतीय संस्थापनको सम्बन्ध विस्तारमा यो एउटा महत्त्वपूर्ण कूटनीतिक खुड्किलो बन्न सक्थ्यो।
यसबाट विदेश सचिव मिश्रीको रद्द भएको नेपाल भ्रमणले उत्पन्न गराएको अनिश्चितता मेटिने परराष्ट्र अधिकारीहरूको आशा थियो। साथै, प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तिथि तय गराउने वातावरण निर्माण हुनेमा समेत उनीहरू आशावादी थिए। तर, सम्मेलन स्थगनसँगै अहिलेलाई यी सबै कार्यक्रम थाती रहेका छन्। सँगसँगै, नेपाल-भारत सम्बन्धमा देखिएको अनिश्चितता हटाउने कूटनीतिक पहल लिन अब नयाँ बाटो खोज्नुपर्ने स्थिति बनेको छ।
किन रद्द भएको थियो विदेश सचिव मिश्रीको भ्रमण?
यसअघि विदेश सचिव मिश्री गत वैशाख २८ गते नेपाल आउने भनिएको थियो। परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा मिति टुंगो नलागेको भन्दै आए पनि प्रधानमन्त्री बालेन शाहले द्विपक्षीय भेटवार्ता गर्न अस्वीकार गरेकै कारण मिश्रीको भ्रमण रद्द भएको स्रोतहरूको दाबी छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जिओ गोरलाई पनि प्रधानमन्त्री शाहले भेट्न मानेका थिएनन्। विदेश सचिव मिश्रीको भ्रमण रद्द हुनु र नेपालका नवनिर्वाचित प्रधानमन्त्रीको परम्परागत भारत भ्रमणको मिति समेत अहिलेसम्म टुंगो लाग्न नसक्नुले दक्षिणी छिमेकीसँगको सम्बन्धलाई लिएर कूटनीतिक वृत्तमा प्रश्न उठ्न थालेको छ।
के हो ‘बिग क्याट अलायन्स’?
भारतले सन् २०२३ अप्रिलमा ‘प्रोजेक्ट टाइगर’ को ५०औं वार्षिकोत्सवका अवसरमा यो अन्तरसरकारी अन्तर्राष्ट्रिय संस्था सुरू गरेको थियो। यसको स्थापना बाघ, चितुवा, हिउँचितुवा जस्ता ठूला बिरालो प्रजातिका जनावर र तिनका बासस्थान संरक्षणका लागि विश्वव्यापी सहकार्य बलियो बनाउन गरिएको हो।
कुल २५ वटा सदस्य राष्ट्र रहेको यो संस्थामा सार्क क्षेत्रबाट नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंका आबद्ध छन् भने अधिकांश अन्य सदस्यहरू अफ्रिकी मुलुक हुन्। नयाँदिल्लीमा आयोजना हुन लागेको यो सम्मेलन यस संस्थाको पहिलो ऐतिहासिक महासभा थियो।