आईसीसी लिग–२ : अमेरिकाविरुद्ध मैदान उत्रिँदै नेपाल, सुखद अन्त्य गर्ने योजना

आईसीसी लिग–२ : अमेरिकाविरुद्ध मैदान उत्रिँदै नेपाल, सुखद अन्त्य गर्ने योजना

  • शुक्रबार, जेष्ठ ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९:३० बजे सुरु हुनेछ। घरेलु मैदानमा भइरहेको सिरिजको यो अन्तिम खेलमा नेपाल सुखद नतिजा निकाल्ने योजनामा छ। सिरिजको पहिलो खेलमा अमेरिकालाई ९ विकेटले पराजित गरेको नेपाली टोली आज पनि सोही प्रदर्शन दोहोर्‍याउने रणनीतिमा छ।

अर्कोतर्फ, अमेरिकी टोली पनि नेपाललाई उसैको मैदानमा हराएर अंक तालिकाको शीर्ष स्थानमा आफ्नो दुरी बलियो बनाउन चाहन्छ। जारी सिरिजमा अमेरिकाले अहिलेसम्म २ अंक मात्र जोडेको छ भने स्कटल्यान्डले ४ अंक बटुल्दै आफ्नो सिरिज सकाएको छ।

जारी सिरिजमा नेपालले ४ अंक जोडिसकेको छ। आजको खेल जितेर नेपाल सिरिजमा ६ अंक पुर्‍याउन चाहन्छ। यसअघि युएई र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा पनि नेपालले ६ अंक नै बटुलेको थियो।

अमेरिकाविरुद्धको पहिलो खेलमा नेपालले विपक्षी टोलीलाई १ सय ९५ रनमै समेटेको थियो। आजको खेलमा पनि बलरहरूबाट उस्तै प्रदर्शनको अपेक्षा गरिएको छ।

अमेरिकाविरुद्ध मैदान उत्रिँदा नेपाली टोलीमा परिवर्तन हुने सम्भावना कम छ। मुख्य प्रशिक्षक स्टुआर्ट लले अमेरिकाविरुद्ध जित निकालेको टोलीलाई नै स्कटल्यान्डविरुद्धको खेलमा पनि निरन्तरता दिएका थिए, जहाँ नेपाल ६ विकेटले विजयी भएको थियो। त्यसैले प्रशिक्षक लले आज पनि सोही विजयी टोलीलाई मैदान उतार्ने सम्भावना छ।

जारी सिरिजमा नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग डीएल मेथड (DLS) का आधारमा २ रनले पराजित भएको थियो। तर, दोस्रो खेलमा स्कटल्यान्डलाई ६ विकेटले र तेस्रो खेलमा अमेरिकालाई ९ विकेटले हराउँदै नेपालले सानदार पुनरागमन गरेको हो।

जारी सिरिजमा ४ अंक थपेसँगै नेपाल अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। लिग-२ मा नेपालले अहिलेसम्म कुल २७ खेल खेल्दै १० मा जित, १५ मा हार र २ खेलमा अंक बाँड्दै २२ अंक बनाएको छ।

समान २२ अंक भए पनि नेट रनरेटमा अघि रहँदै नेपालले नामिबियालाई पछि पारेको हो। नामिबिया छैटौँ स्थानमा छ। नेपालको मुख्य लक्ष्य शीर्ष चारभित्र रहँदै ओडीआई (ODI) मान्यता जोगाउनु र विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनु हो। त्यसैले नेपालका लागि अबका आगामी सिरिजहरू निकै महत्त्वपूर्ण छन्।

तालिकाको समग्र अवस्था:

शीर्ष स्थान: अमेरिका (३८ अंक)

दोस्रो स्थान: स्कटल्यान्ड (३८ अंक)

तेस्रो स्थान: ओमान (३१ अंक, २८ खेल)

चौथो स्थान: नेदरल्यान्ड्स (२८ अंक, २४ खेल)

पाँचौँ स्थान: नेपाल (२२ अंक, २७ खेल)

छैटौँ स्थान: नामिबिया (२२ अंक)

सातौँ स्थान: क्यानडा (२१ अंक, २४ खेल)

पुछारमा: यूएई (१४ अंक, २४ खेल)

नेपाली टोली (स्क्वाड):
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी, विनोद भण्डारी, अर्जुन कुमाल र भीम सार्की।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी