काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति जवाफदेही नभएको भन्दै आपत्ति जनाएका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेता केसीले प्रधानमन्त्री शाहको कार्यशैलीप्रति कडा व्यंग्य गरे।
“उहाँ भिन्दै साम्राज्य वा कहिँको टापुको सम्राट हो कि यो संसद्को अंग हो?,” केसीले प्रश्न गरे, “म यस विषयमा सम्माननीय सभामुखज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। यो सामान्य विषय होइन।”
मनसुन भित्रिनै लाग्दा विपद् व्यवस्थापन र पूर्वतयारीका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै उनले प्रधानमन्त्रीले संसद्लाई निरन्तर बेवास्ता गरिरहेको आरोप लगाए। हाल गृह मन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्रीले नै सम्हालेकाले विपद् व्यवस्थापनमा उनको भूमिका अझ बढी खोजिएको केसीको भनाइ थियो।
सांसद केसीले थपे, “प्रधानमन्त्री आफैँ अहिले गृहमन्त्री हुनुहुन्छ। गृह मन्त्रालयले अत्यन्त गम्भीर रूपमा लिनुपर्ने विषय हो यो। विपद्को पूर्वतयारीमा गृह मन्त्रालय लागोस्। तर, आफैँ गृहमन्त्री रहनुभएका प्रधानमन्त्री स्वयं यो संसद्को अंग हो कि होइन, मैले त अहिलेसम्म थाहा पाउन सकेको छैन।”