काठमाडौँ। मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा विजयी सुरुवात गरेको छ। बुधबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली मलेसियालाई २ विकेटले पराजित गरेको हो।
मलेसियाले दिएको ६८ रनको सामान्य लक्ष्य नेपाली टोलीले १७.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा ओपनर सम्झना खड्काले सर्वाधिक ३२ रनको योगदान दिइन् भने रुवि पोद्दारले १५ रन बनाइन्। त्यस्तै, कविता जोशी ६ र रिया शर्मा ४ रनमा अविजित रहे। अन्य ब्याटरको प्रदर्शन भने कमजोर रह्यो। सीता रानामगरले ५ र कविता कुँवरले ३ रन जोड्दा कप्तान इन्दु बर्मा र रुविना क्षेत्री समान १/१ रनमा आउट भए। विन्दु रावल र पूजा महतोले खाता खोल्न सकेनन्।
मलेसियाका लागि नुर क्वायसाले ३, एल्सा हन्टर र आस्या लिसाले समान २–२ तथा नुर डानियाले १ विकेट लिए।
त्यसअघि क्वालालाम्पुरस्थित बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा मात्र ६७ रनमा अलआउट भएको थियो। मलेसियालाई कम स्कोरमा रोक्न नेपालकी पूजा महतोले घातक बलिङ गर्दै ३ विकेट लिइन्। उनले ४ ओभरमा मात्र १३ रन खर्चिइन्। मनिषा उपाध्यायले ४ ओभरमा १ मेडनसहित १७ रन दिएर २ विकेट लिइन्।
त्यस्तै, रिया शर्माले २.५ ओभरमा १३ रन खर्चिएर २ विकेट लिँदा कविता कुँवर र सीता रानामगरको भागमा समान १–१ विकेट रह्यो। मलेसियाका लागि एल्सा हन्टरले बनाएको १० रन नै सर्वाधिक रह्यो। अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क छुन सकेनन्।
नेपाल र मलेसियाबीचको दोस्रो खेल आगामी शुक्रबार हुनेछ।