काठमाडौँ, जेठ ४ गते । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबार झण्डै आधा घण्टा ढिलो गरी सुरु भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक उपाध्यक्ष रामबहादुर थापा (बादल) र उपमहासचिव लेखराज भट्ट ढिलो गरी ओली निवास गुन्डु पुगेपछि मात्र सुरु भएको हो।
थापा र भट्ट बैठक स्थल पुगेलगत्तै सुरु भएको बैठकमा महासचिव शंकर पोखरेलले छलफलका लागि ११ वटा एजेन्डाहरू पढेर सुनाएका थिए। महासचिव पोखरेलले एजेन्डा प्रस्तुत गरेपछि अध्यक्ष केपी शर्मा ओलीले सम्बोधनका रूपमा आफ्ना भनाइहरू राख्न सुरु गरेका थिए।
आफ्नो धारणा राख्ने क्रममा अध्यक्ष ओली एक्लैले एक घण्टाभन्दा बढी समय बोलेका थिए। त्यसक्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिको लामो चर्चा गर्दै पार्टीको आन्तरिक विषयलाई जोडेका थिए।
अध्यक्ष ओलीले गत फागुन २१ गतेको निर्वाचन परिणाम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार निर्माण र बालेन शाह नेतृत्वको सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाएका थिए। साथै, उनले आफ्नो गिरफ्तारीलाई राजनीतिक प्रतिशोधका रूपमा अर्थ्याउँदै एमाले र एमाले नेतृत्वमाथि सरकारले गरिरहेको व्यवहार राजनीतिक नभएको टिप्पणी गरेका थिए। ओलीले बोलेपछि अन्य सचिवालय सदस्यहरूले देशको राजनीति, पार्टीहरूको भूमिका, चुनावी नतिजा र सरकारका कदमबारे पालैपालो आफ्ना धारणा राखेका थिए।
विद्या भण्डारीको एजेन्डा: ओलीको अचानक प्रस्ताव
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे छलफल गर्ने कुनै औपचारिक एजेन्डा नभए पनि अध्यक्ष ओली आफैँले यसको प्रसङ्ग निकालेका थिए। उनले आफ्ना धारणा राख्ने क्रममा पार्टी एकतामा जोड दिँदै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता खुला गर्ने प्रस्ताव अघि सारेका थिए।
“अहिले हामी अप्ठेरो र चुनौतीपूर्ण अवस्थामा छौँ। यो चुनौती चिर्न पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन,” ओलीले बैठकको अन्त्यतिर भनेका थिए, “पूर्वराष्ट्रपति भण्डारीले सदस्यता लिने इच्छा गर्नुभयो। अब किन रोक्नु, प्रक्रिया पनि पुगेकै छ। नरोकौँ र उहाँको सदस्यतालाई कन्टिन्युटी (निरन्तरता) गरौँ।” ओलीको यो अचानकको प्रस्ताव सुनेर बैठकमा सहभागी केही सचिवालय सदस्यहरू नै अचम्म (सरप्राइज) मा परेका थिए।
“पहिला उहाँले नै किन रोक्नुभयो र अहिले किन खोल्नुभयो भन्ने कुरा केही बुझ्न सकिएन,” एक सचिवालय सदस्यले रातोपाटीसँग कुरा गर्दै भने, “आफूमाथि उठिरहेका प्रश्न र आलोचनाहरूलाई विषयान्तर गर्न पनि यो प्रस्ताव ल्याइएको हुनसक्छ।”
यी हुन् बैठकका ११ एजेन्डा
बैठकमा महासचिव शंकर पोखरेलले पदाधिकारीको वरीयता, निर्वाचन समीक्षा, सदस्यता नवीकरण र विस्तार, पदाधिकारीको कार्य विभाजन, संविधान संशोधन कार्यदल गठन, पार्टी कार्यालय भवन निर्माण, केन्द्रीय कार्यालय, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठन, र सङ्गठन विभागमा सदस्य मनोनयन लगायतका ११ वटा छलफलका एजेन्डा पेस गरेका थिए। उपमहासचिव लेखराज भट्टले यसबारे जानकारी दिएका हुन्।
बैठकमा केही सचिवालय सदस्यहरूले निर्वाचन पराजयपछि अध्यक्ष ओलीको राजीनामा पार्टीभित्रै माग्न थालिएको सङ्केत गरेका थिए। तर, सोमबारको बैठकमा समय अभाव भएपछि त्यसबारे विस्तृत छलफल हुन नपाएको एक सदस्यले बताए।
“समग्रमा पार्टी पुनर्गठनको प्रसङ्ग सबैजसो सदस्यले उठाएका छन्। एजेन्डा बनाएर पार्टीको समग्र पुनर्गठनका बारेमा छलफल गर्नुपर्छ भन्ने आशय सबैको थियो,” ती सदस्यले भने, “तर समय अभावका कारण अर्को बैठकमा विस्तृत छलफल गर्ने सहमति भएपछि थप बहस भएन।”
मङ्गलबार महासचिव शंकर पोखरेल दाङ जाने कार्यक्रम रहेकाले सचिवालयको अर्को बैठक आगामी जेठ ८ गते बस्ने तय भएको छ। सोही बैठकले बाँकी एजेन्डाहरूमाथि थप निर्णय गर्ने बताइएको छ। उपमहासचिव भट्टले भने, “बैठक अत्यन्त सौहार्दपूर्ण भयो। अध्यक्षले सकारात्मक कुरा राखेपछि सबैले उहाँको कुरा ठिक हो भन्ने मत राखेका छन्।”