काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका उपनेता एवं सांसद अभिषेकप्रताप शाहले निवर्तमान गृहमन्त्री सुधन गुरूङले सार्वजनिक गरेको सम्पत्ति विवरण अस्वाभाविक र शंकास्पद देखिएको भन्दै त्यसमाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद शाहले शक्तिशाली पदमा बसेका व्यक्तिहरू कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गरे।
सदनमा बोल्दै उनले भने, ‘पूर्वगृहमन्त्री सुधन गुरूङले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनुपर्दछ।’
आयोगको भूमिकामाथि प्रश्न र सदनको ध्यानाकर्षण
सांसद शाहले संशयको घेरामा रहेका पूर्वगृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागिपरेको जनस्तरमा व्यापक आशंका र चर्चा भइरहेको तर्फ समेत सदनको ध्यानाकर्षण गराएका छन्।
‘कुनै पनि शक्तिशाली पदमा बसेको व्यक्तिले कानुनभन्दा माथि रहने उन्मुक्ति पाउनु हुँदैन र आयोगले कसैको दबाब वा प्रभावमा परेर चोख्याउने काम नगरोस्,’ उनले थपे, ‘प्रतिनिधि सभा जनताको विश्वासको केन्द्र हो। तसर्थ, यो सदनमार्फत म सरकारसँग माग गर्दछु कि आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्वगृहमन्त्रीको सम्पत्तिको उच्चस्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस्।’