काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले लिग तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो। यस जितसँगै नेपालले शृंखलाको पहिलो खेलमा स्कटल्यान्डसँग बेहोरेको २ रनको (डीएल मेथड) हारको बदला समेत लिएको छ।
जारी त्रिकोणात्मक सिरिजमा ३ मध्ये २ खेल जित्दै ४ अंक जोडेको नेपाल अंक तालिकाको पाँचौँ स्थानमा उक्लन सफल भएको छ। नेपालले अब शृंखलाको अन्तिम खेलमा शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
सन्दीपको ऐतिहासिक विश्वकीर्तिमान र ललितको चमक
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रन बनाउँदा अलआउट भएको थियो। स्कटल्यान्डलाई सस्तैमा समेट्न स्पिनर ललित राजवंशीले घातक बलिङ गर्दै ४ विकेट लिए। उनले ७ ओभरमा मात्र २५ रन खर्चेका थिए।
यस्तै, खेलमा ३ विकेट लिएका लेग स्पिनर सन्दीप लामिछानेले ऐतिहासिक विश्वकीर्तिमान कायम गरेका छन्। खेलको २०औँ ओभरको अन्तिम बलमा स्कटल्यान्डका सेट ब्याटर ब्रान्डोन म्याकमुलेन (७३ रन) लाई आउट गर्दै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडीको कीर्तिमान बनाएका हुन्। उनले अस्ट्रेलियन बलर मिचेल स्टार्कको रेकर्ड तोडेका हुन्। खेलमा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले पनि समान १–१ विकेट बाँडेका थिए।
स्कटल्यान्डका लागि म्याकमुलेनले ७३ र माइकल इङ्लिसले ५१ रनको योगदान दिएका थिए।
इशान र रोहितको शतकीय साझेदारी, नेपालको सहज जित
स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि ओपनिङ ब्याटर आशिफ शेखले २९ रन र कुशल भुर्तेलले २८ रन जोड्दै ६.४ ओभरमा ५८ रनको आक्रामक सुरुवात दिलाएका थिए।
दुवै ओपनर सस्तैमा आउट भएपछि कप्तान रोहित पौडेल र युवा ब्याटर इशान पाण्डेले तेस्रो विकेटका लागि १०४ रनको सानदार शतकीय साझेदारी गर्दै नेपालको जित सुनिश्चित गरेका छन्। अमेरिकाविरुद्धको खेलबाट ओडीआईमा डेब्यु गरेका इशानले आफ्नो दोस्रो खेलमै उत्कृष्ट अर्धशतक प्रहार गरे। उनी ६१ बलमा ५५ रन बनाउँदै आउट भए।
कप्तान रोहित पौडेल ६८ रनमा र आरिफ शेख ८ रनमा अविजित रहे। रोहितले ९८ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे। स्कटल्यान्डका मार्क वाटले २ विकेट लिए।
अंक तालिकामा नेपालको सुधार
यस जितसँगै नेपालले अंक तालिकामा दुई स्थान सुधार गर्दै नामिबिया र क्यानडालाई पछि पारेको छ। नेपालले हालसम्म खेलेका २७ खेलमध्ये १० मा जित, १५ मा हार र २ खेलमा अंक बाँड्दै २२ अंकका साथ पाँचौँ स्थान सुरक्षित गरेको छ।
लिग-२ को नियम अनुसार शीर्ष चार भित्र पर्न सके नेपालले सोझै विश्वकपको ग्लोबल छनोट खेल्न पाउनेछ र ओडीआई मान्यता जोगिनेछ। अन्यथा नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ। पराजित स्कटल्यान्ड ३१ खेलबाट ३८ अंकसहित तालिकाको शीर्ष स्थानमै यथावत् छ भने २६ खेलबाट ३६ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ।