४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको छ।
आजको बैठकबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको औपचारिक प्रक्रिया अन्तर्गत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल (कर प्रस्तावबाहेक) सुरु हुनेछ।
यस्तो छ आजको सम्भावित कार्यसूची:
नियमावली मस्यौदा प्रतिवेदन प्रस्तुत: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनु अघि ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ। सो प्रस्ताव समितिका सभापति गणेश पराजुलीले बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल: नियमावलीमाथिको प्रस्ताव पश्चात संसदमा बजेटका सिद्धान्त र प्राथमिकताबारे विस्तृत छलफल सुरु हुनेछ।
संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारेको छलफल सकिएपछि आगामी जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ।