४ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले घरेलु मैदानमा स्कटल्याण्डको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको यस खेलमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ। स्कटल्याण्डका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल फिल्डिङमा उत्रिएको हो।
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी त्रिकोणीय शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन्। जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेल जितेर बलियो स्थितिमा देखिएको छ। शृङ्खलाको पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस (डीएलएस) नियमका आधारमा २ रनले पराजित गरेको थियो भने अर्को खेलमा अमेरिकालाई पनि सोही नियमका आधारमा २ रनले नै हराएको थियो।
यता, गत शनिबार सम्पन्न तेस्रो खेलमा नेपालले अमेरिकालाई ९ विकेटको विशाल अन्तरले पराजित गर्दै उत्कृष्ट पुनरागमन गरेको थियो। आजको खेलमा बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डलाई पराजित गर्दै नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने आफ्नो सम्भावनालाई जीवितै राख्न चाहन्छ।
यस्तो छ अङ्क तालिकाको समीकरण
आईसीसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा नेपाल अहिले कठिन मोडमा छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी रहेका सबै १० वटा खेल जित्नुपर्ने दबाबमा छ। त्यस्तै, आफ्नो एकदिवसीय (ODI) मान्यता जोगाउन पनि नेपाललाई शीर्ष छ स्थानभित्र रहन आवश्यक छ। त्यसैले पनि आजको खेल नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ।
हालको अंक तालिकामा:
नेपाल: २६ खेल खेल्दै ९ मा जित, १५ मा हार र २ खेल अनिर्णित रहँदा २० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ।
स्कटल्याण्ड: ३० खेलमध्ये १६ मा जित, ८ मा हार र ६ खेल अनिर्णित रहँदा ३८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ।
घरेलु दर्शकको बलियो साथ पाएको नेपाल आजको खेलमा स्कटल्याण्डसँग अघिल्लो हारको बदला लिँदै महत्त्वपूर्ण २ अंक जोड्ने लक्ष्यका साथ मैदानमा छ।