काठमाडौँ , प्रधानमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी दैलेखका एक वडा सचिवलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले उनलाई शंखमुलबाट नियन्त्रणमा लिएको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक स्थायी घर भई हाल काठमाडौँको शंखमुल बस्ने २२ वर्षीय खड्कालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
के थियो घटना?
दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडा सचिव कमल भण्डारीलाई खड्काले फोनमार्फत ‘म प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ’ भन्दै अत्यन्त असभ्य भाषामा धाकधम्की दिएका थिए। सोही टेलिफोन संवादको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि घटना बाहिर आएको हो।
प्रधानमन्त्री कार्यालयको कडा निर्देशन र विज्ञप्ति
राष्ट्रसेवक कर्मचारीलाई धम्क्याएको उक्त अडिओ सार्वजनिक हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयका प्रवक्ता हेमराज अर्यालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै विधिको शासनलाई चुनौती दिने खड्कालाई तत्काल कानुनको दायरामा ल्याएर कडा कारबाही गर्न सुरक्षा एवं अनुसन्धान निकायलाई निर्देशन दिइसकेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ: “सम्माननीय प्रधानमन्त्री ज्यू सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलका पक्षमा दृढ हुनुहुन्छ। विधिको शासनलाई चुनौती दिने जोकोहीलाई कानुनबमोजिम कडा कारबाही गरिनेछ।”
प्रधानमन्त्री कार्यालयले आफ्ना कर्मचारी र सर्वसाधारणलाई यस्ता भ्रमपूर्ण फोन र धम्कीबाट सचेत रहन समेत आग्रह गरेको छ। कुनै पनि व्यक्तिले निजी स्वार्थका लागि प्रधानमन्त्री, उहाँको सचिवालय वा प्रधानमन्त्री कार्यालयको नाम लिएर धम्की दिने, बार्गेनिङ गर्ने वा नाजायज दबाब सिर्जना गरेमा तत्काल नजिकको सुरक्षा निकायमा जानकारी गराउन अपिल गरिएको छ।
साथै, आगामी दिनमा हुनसक्ने यस्ता दुरुपयोग र भ्रमबाट बच्नका लागि शङ्कास्पद फोन, सन्देश वा संवादहरूलाई आधिकारिक माध्यमबाट अनिवार्य रूपमा प्रमाणीकरण गर्न समेत प्रधानमन्त्री कार्यालयले सचेत गराएको छ।