काठमाडौँ । सरकारले निवर्तमान गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुधन गुरुङका सम्बन्धमा उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ।
वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा ३ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालका अनुसार समितिका सदस्यहरूमा निम्न बमोजिम रहेका छन्:
अध्यक्ष: अच्युतप्रसाद भण्डारी (पूर्वन्यायाधीश, उच्च अदालत)
सदस्य: शोभाकान्त पौडेल (महालेखा नियन्त्रक)
सदस्य: अच्युतमणी नेउपाने (सहन्यायाधीवक्ता)
१५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने
समितिलाई पूर्वगृहमन्त्री गुरुङ मन्त्री पदमा बहाल रहँदा र त्यसपछि उनीसँग जोडिएर सार्वजनिक रूपमा उठेका विभिन्न विवाद तथा सरोकारका विषयहरूमा सत्यतथ्य छानबिन गर्ने म्यान्डेट दिइएको छ। समितिलाई विस्तृत अध्ययन गरी राय सुझावसहितको प्रतिवेदन बुझाउन कार्यप्रारम्भ भएको मितिबाट १५ दिनको समयावधि तोकिएको छ।
पछिल्लो समय पूर्वगृहमन्त्री गुरुङ जोडिएका केही विषयहरू सार्वजनिक चर्चा र विवादमा आएपछि सरकारले न्यायिक र प्रशासनिक अधिकारीहरू सम्मिलित यो समिति गठन गरेको हो।