काठमाडौँ । श्रम संस्कृति पार्टीले सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा सरकार प्रमुख (प्रधानमन्त्री) अनुपस्थित भएकोमा कडा आपत्ति जनाएको छ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सो पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने प्रष्ट पारे। सांसद साम्पाङले प्रधानमन्त्रीले संसद्को छलफललाई उपेक्षा गरेको भन्दै आगामी बैठकमा प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टीले बैठक बहिष्कार गर्ने चेतावनी समेत दिए।
‘छलफलका क्रममा उठेका कुराहरू उहाँले सुन्नुभएन, तर उत्तर दिने क्रममा उहाँ आउनुहुन्छ भन्ने मैले विश्वास लिएको छु,’ साम्पाङले भने, ‘यदि उहाँ आउनुहुन्न भने हामी (श्रम संस्कृति पार्टी) बैठकबाट बाहिरिने छौँ। हामीले अरूबाट उत्तर सुन्नुपर्ने स्थिति होइन।’
प्रधानमन्त्रीले आफ्नो सट्टा प्रतिनिधि पठाउनु न्यायोचित नहुने तर्क गर्दै उनले व्यङ्ग्यात्मक शैलीमा थपे, ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। त्यसैले उहाँ आफैँ उपस्थित भएर जवाफ दिनुपर्छ।’
संसद्मा सरकारको नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयमा छलफल भइरहँदा सरकार प्रमुख उपस्थित नभएकोमा कटाक्ष गर्दै उनले भने, ‘उहाँले अहिले नसुने पनि लाइभमा वा पछि सुन्नुहोला भन्ने आशा छ।’