कामु प्रधानन्यायधीशको आक्रामक अभिव्यक्ति : सरकार र महाअभियोगको भयबाट निस्कन अपील

कामु प्रधानन्यायधीशको आक्रामक अभिव्यक्ति : सरकार र महाअभियोगको भयबाट निस्कन अपील

  • शनिबार, बैशाख २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइको सरकारको डर र प्रभावमा न्याय सम्भव नहुने स्पष्ट चेतावनी दिएकी छन्।

७४औँ कानुन दिवसका अवसरमा काठमाडौँमा आयोजित समारोहमा बोल्दै उनले न्यायपालिकामाथि बढ्दो दबाब र हस्तक्षेपप्रति चिन्ता व्यक्त गरिन्। राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र राष्ट्रिय सभाका अध्यक्षसमेत उपस्थित समारोहमा मल्लले न्यायिक क्षेत्रलाई साहस र दृढताका साथ अघि बढ्न आह्वान गरिन्।

उनले भनिन्,
“डर र प्रभावमा न्याय सम्भव छैन—चाहे त्यो दुई तिहाइको सरकारको डर होस् वा महाअभियोगको। न्यायाधीशहरू डरमुक्त भई जिम्मेवारीपूर्वक अघि बढ्नै पर्छ।”

मल्लले आफ्नो पेशागत जीवन भरी विभेद र अन्यायविरुद्ध लड्दै आएको बताउँदै न्यायको लडाइँ अझै बाँकी रहेको उल्लेख गरिन्। सक्षम, स्वच्छ र सही न्यायप्रणाली निर्माणका लागि कानुन दिवसले थप प्रेरणा दिनुपर्ने बताउँदै उनले संवैधानिकता, विधिको शासन, नागरिक हक–अधिकार र न्यायपालिकाको स्वतन्त्रता जोगाउन सबैलाई एकजुट हुन आग्रह गरिन्।

अख्तियारी दुरुपयोग र ‘आज्ञाकारी न्यायपालिका’ बनाउने प्रयासबारे प्रश्न

उनले हालका राजनीतिक तथा प्रशासनिक गतिविधिहरूले न्यायिक स्वतन्त्रता कमजोर पार्ने जोखिम बढेको बताइन्।
“अख्तियारी र विधेयकका नाममा संवैधानिक सर्वोच्चता र स्वतन्त्रतामाथि आँच आउने काम त भइरहेछ कि — भन्ने प्रश्न उठिरहेको छ,” उनले भनिन्।

मल्लका अनुसार संविधानको उल्लंघन गर्नेलाई उत्तरदायी नबनाई कानुनी शासन कायम राख्न सकिँदैन। संविधानलाई कमजोर बनाएर परिवर्तनको नाममा सत्ता टिकाउने प्रवृत्ति खतरनाक रहेको उनको भनाइ थियो।

‘सरकारको स्पिड होइन, संविधानको स्पिरिटमा न्यायपालिका चल्छ’

सभामुखले उठाएको प्रश्न—न्यायपालिका सरकारको स्पिड र स्पिरिटमा चल्न सक्छ कि—प्रति जवाफ दिंदै मल्लले भनिन्,
“न्यायपालिका सरकारको स्पिडमा चल्न सक्छ, तर केवल संविधानको स्पिरिटमा मात्र। स्रोत–साधनको अभावमा न्यायिक कामसम्पादनमै चुनौती छ।”

न्यायिक पुनरुत्थानतर्फ अघि बढिरहेको उल्लेख

भदौ २३–२४ का घटनापछि न्यायपालिका विषम अवस्थामा पुगेको बताउँदै उनले अहिले सुधार र पुनरुत्थानको प्रक्रियामा संस्थाले महत्त्वपूर्ण कदम चालेको धारणा राखिन्।

समारोहमा शीर्ष पदाधिकारीहरूको उपस्थिति

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायतका शीर्ष पदाधिकारीको उपस्थितिलाई उनले न्यायपालिकाप्रति राज्यका सबै अंगहरूको मधुर पुनर्मिलनको प्रतीकका रूपमा व्याख्या गरिन्।

कार्यक्रमको अन्त्यमा मल्लले कानुन दिवसले सबैमा विधिको शासनप्रति नयाँ ऊर्जा र प्रतिबद्धता पैदा गरून् भन्ने कामना व्यक्त गरिन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ